सम्झनामा बलरामसँगका २६ वर्ष सहकार्य
मित्र बलराम बानियाँको निधनको अकल्पनीय घटनाले मेरो मन–मस्तिष्क विचलित तुल्याइरहेको छ । लामो समय सहकार्य र सहयात्रामा हिँडेका मित्रको असामयिक अवसानको अप्रत्याशित समाचार पत्याउनै मुस्किल पर्यो । त्यो खबरसँगै सामाजिक सञ्जालमा उनका तस्बिरसहित ‘श्रद्धाञ्जली’ छाउन थाले ।
मैले त्यो हेर्न सकिनँ र त्यसपछि सामाजिक सञ्जालमा प्रवेश गर्नेसमेत आँट आएन ।
विचलन र पीडाबीच कान्तिपुर ‘कोसेली’ संयोजक दीपक सापकोटा भाइले भने, ‘तपाईंहरू दुवैले लामो समयसँगै सहयात्रा र रिपोर्टिङ गर्नुभयो । तपाईंले बलराम दाइबारे संस्मरण लेखिदिनुपर्यो ।’
मैले आग्रह टार्न सकिनँ । कान्तिपुरमा अनगिन्ती संयुक्त ‘बाइलाइन’ मा समाचार लेखेकै मित्रको अवसानमाथि लेख्नु अझ पीडादायी हुँदो रहेछ । कान्तिपुर दैनिक प्रकाशन हुनुपूर्व नै त्यो संस्थासँग आबद्ध हुने पात्रमध्ये म र बलराम बानियाँ पनि हौं । तत्कालीन सम्पादक योगेश उपाध्यायसँग राम्रै चिनजानका कारण म २०४९ मंसिरको पहिलो साता कान्तिपुरसँग आबद्ध हुन पुगेँ । बलरामजीचाहिँ कान्तिपुर प्रकाशन हुनु केही दिनअघि । २०४९ फागुन ७ मा निजी क्षेत्रबाट एकैचोटि नेपाली र अंग्रेजी दुवै भाषाका ‘ब्रोडसिट’ अखबार प्रकाशनमा आएका थिए, जसको प्रारम्भिककालमै हामी सदस्य बन्यौं । त्यसरी ठूलो आकारमा दैनिक अखबार आउँदा समाज नै तरंगित भएको थियो ।
हामी दुवैको कान्तिपुर प्रवेशचाहिँ फरक–फरक सेक्सनमा थियो । म कम्प्युटर सेक्सनमा र बलरामजी प्रुफतिर । अनि, हामी दुवै कलेज पढ्दै गरेका विद्यार्थी पनि थियौं । डेढ वर्षपछि कार्यक्षेत्र बद्लियो । कम्प्युटरबाट सेवा परिवर्तन हुँदै मेरो रिपोर्टिङतिर प्रवेश भयो । अर्थात् म रिपोर्टर भएँ । त्यसको केही महिनापछि बलरामजीलाई पनि प्रुफबाट समाचार सम्पादन कक्षमा उपसम्पादकको नियुक्ति मिल्यो ।
त्यसपछि म रिपोर्टिङमा रमाउन पुगेँ भने बलरामजी समाचार सम्पादनतिर । समाचारहरूको सम्पादन गर्ने दायित्व उनको थियो । २०५६ पछि उनी डेस्कबाट रिपोर्टिङमा सरुवा भए । त्यसपछि उनको र मेरो एकैखाले रिपोर्टिङ बिट थियो, ‘संसद्, सत्तारूढ नेपाली कांग्रेस, संवैधानिक अंग, जलस्रोत र प्रशासनिक वृत्त ।’ हाम्रो भागमा कार्यक्षेत्र बृहत्तर थियो ।
अझ त्यो कालखण्डमा सत्तारूढ कांग्रेसको सधैंभरिको किचलो, झगडा, विवाद र विभाजनसम्मका अनगिन्ती समाचार, टिप्पणी, अन्तर्वार्ता ‘हरिबहादुर थापारबलराम बानियाँ’ लेखिने संयुक्त ‘बाइलाइन’ मा आइरहे, जुन कान्तिपुरका ‘आर्काइभ’ मा सुरक्षित छन् । त्यहीकारण कान्तिपुरभित्र ‘हरिरबलराम’ थेगोसमेत बनेको थियो ।
२०५७ मा कांग्रेसको पोखरा महाधिवेशनको समाचार सम्प्रेषणमा हामी दुवै खटेका थियौं ।
सत्तारूढ कांग्रेसको महाधिवेशन राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा थियो, अनि सबैको चासोमा पनि । एक दिनमै पाँच–छवटासम्म समाचार पोखराबाट पठाउनुपर्ने हुन्थ्यो, अनेकन कोणबाट । घटनाक्रम परिवर्तन भइरहँदा रात परेपछि मात्रै समाचार लेख्नुपर्ने स्थिति हुन्थ्यो । एक रात कान्तिपुर क्षेत्रीय कार्यालय पोखराको कम्प्युटरले धोका दियो । हातले समाचार लेख्ने बानी टुटिसकेको थियो । यतिखेरजस्तो बग्रेल्ती कम्प्युटर पनि हुँदैनथ्यो । राति पोखराकै स्थानीय पत्रकारसँग कम्प्युटर सहयोग माग्नुपर्ने स्थिति बन्यो । ती पत्रकारको निवासमै गएर दुई घण्टाका बीचमा पाँचवटा समाचार लेखियो, जुन समाचारले पहिलो र तेस्रो पृष्ठ भरिएका थिए । बलरामजीले भन्ने, म लेख्ने । कम्प्युटरमा मेरो हात छिटो चल्ने हुँदा त्यति थोरै समयमा त्यति धेरै समाचार पठाउँदा हामी दुवै आश्चर्यमा परेका थियौं ।
सत्तारूढ दलको रिपोर्टिङ गर्ने संवाददाताहरूको सधैंभरिको पीडा हुन्छ, मध्यरातसम्म खट्नुपर्ने । रात छिप्पिँदै जाँदा नेताहरू तात्छन् । तिनको झगडाको तथ्य खोजी गर्दै समाचार लेख्नु त्यति सहज हुन्न, जति ठानिन्छ ।
२०५९ जेठ लागेपछि कांग्रेस कलहको ‘भुंग्रो’ मा परेपछि हरेक दिन त्यसरी मध्यरातसम्मै खट्नुपर्ने स्थिति पैदा भयो । २०५९ जेठ ८ को मध्यरातमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिसभा विघटनको सिफारिस र विघटनसँगै कांग्रेसको हविगत यतिखेर नेकपाजस्तै थियो । फरक यत्ति थियो, कांग्रेस सभापति र प्रधानमन्त्री फरक–फरक व्यक्ति थिए ।
त्यो २०५९ जेठ ८ को दिनभर बालुवाटारमा कांग्रेस संसदीय दलको चर्काचर्की बैठक चल्यो । पार्टी सभापति गिरिजाप्रसाद कोइराला निकट समूहले माओवादीविरुद्धको संकटकालीन अवधि थप नगर्ने अडान लिएको थियो । अन्ततः संसदीय दलबाट त्यही निर्णय भयो, ‘भोलिपल्ट बिहान मन्त्रिपरिषद् बैठक राख्ने र निर्णय लिने ।’
साँझ साढे ७ बजेसम्म स्थिति ठीकै थियो । त्यही समाचार लेखेर घर फर्किएको मात्रै के थिएँ— एक मन्त्रीको फोन आयो, ‘ठूलै निर्णय हुँदै छ, राति ११ बजेको रेडियो समाचार सुन्नु १’ दरबारको विज्ञप्ति बज्यो, ‘प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावमा जाने ।’
त्यससँगै कांग्रेसभित्रको कलहले उत्कर्ष लियो । त्यो दिनपछि हरेक दिनजसो कांग्रेसको समाचार संयुक्त बाइलाइनमा २०५९ असारको पहिलो सातासम्मै हामीले लेखी नै रह्यौं– ‘पार्टी निर्णय अवज्ञा गरेकामा प्रधानमन्त्री निलम्बितदेखि मन्त्रीहरूलाई राजीनामा निर्देशनसम्म ।’
अन्ततः त्यो कलहले असारमा कांग्रेसलाई विभाजनको स्थितिसम्म पुर्यायो । राजनीतिक परिदृश्यमा नेपाली कांग्रेस ९प्रजातान्त्रिक० देखापर्यो । कांग्रेस विभाजन भएकै भोलिपल्ट हामी दुवैको संयुक्त बाइलाइनमा प्रमुख समाचार छापियो– ‘कांग्रेसबाट समूह चोइटियो ।’ त्यसरी लेख्नुको खास कारणचाहिँ विभाजनका निम्ति चाहिने आवश्यक गणितीय संख्या केन्द्रीय समितिमा देउवा समूहमा थिएन । त्यही तथ्यांक विश्लेषणसहितको त्यो शीर्षकको समाचारले हल्लीखल्ली पैदा गरेको थियो ।
कांग्रेस विभाजनसँगै अनौठा संयोग र अनेकन् दृश्य देखियो, जुन दृश्य र तथ्य ‘कोसेली’ मा मेरो र बलरामजीको संयुक्त बाइलाइनमा छापियो । कांग्रेस विभाजनमा पति एकातिर पत्नी अर्कातिर, आमा एकातिर छोरी अर्कातिर, दाजु एकातिर भाइ अर्कातिर । काका–भतिजा, दाजु–बहिनी पनि भिन्नभिन्न हुन पुगे ।
अर्को संयोगचाहिँ कांग्रेसभित्र ‘राम’ जोडिने एकातिर, ‘बहादुर’ जोडिएकाहरू अर्कातिर । अर्थात्, शेरबहादुर देउवा, खुमबहादुर खड्का, बलबहादुर केसी, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, भक्तबहादुर बलायर, केशवबहादुर थापा, मोहनबहादुर बस्नेतलगायत ‘तमाम बहादुर’ एकै ठाउँमा देखिनु ‘संयोग’ मान्नुपर्छ । अर्कातिर रामचन्द्र पौडेल, रामशरण महत, रामहरि जोशी, रामवरण यादव, रामकृष्ण ताम्राकार, रामहरि ढुंगेल, रामचन्द्र तिवारी, रामचन्द्र पोखरेल, रामबहादुर गुरुङ, रामनाथ अधिकारी, तीर्थराम डंगोल, रामकुमार चौधरी एकै ठाउँमा रहे ।
कांग्रेस विभाजनको ‘असर र प्रभाव’ कान्तिपुरमा पनि पर्यो । नेपाली कांग्रेसको रिपोर्टिर्ङ गर्दागर्दै हामी दुई जनाको ‘बिट’ विभाजित हुन पुग्यो । बलरामजीको भागमा नेपाली कांग्रेस पर्यो भने मेरो भागमा चाहिँ प्रजातान्त्रिक कांग्रेस । कांग्रेसभित्रको ‘संयोग’ कान्तिपुरमा पनि पर्यो । मेरो नामसँग ‘बहादुर’ जोडिएको थियो, पार्टी विभाजन गर्ने ‘बहादुर’ हरूसँगै रम्नुपर्ने भयो । ‘राम’ जोडिएका बलरामजीलाई ‘राम’ हरूकै नेपाली कांग्रेस रिपोर्टिङ गर्नुपर्ने गरी सम्पादकीय नेतृत्वले ‘बिट’ विभाजन गर्यो । मलाई विभाजित कांग्रेसको रिपोर्टिङ गर्ने रुचि जागेन । मैले प्रजातान्त्रिक कांग्रेस बिटको रिपोर्टिङ नगर्नेर् अडान लिएँ । त्यसपछि मलाई जिल्ला ब्युरो प्रमुखको जिम्मेवारी दिइयो । अर्थात्, म दैनिक रिपोर्टिङबाट मुक्त भएँ ।
अब बलरामजीलाई दुवै कांग्रेसको रिपोर्टिङ गर्नुपर्ने बाध्यता आइलाग्यो । सजिलोका निम्ति ‘कोइराला कांग्रेस’ र ‘देउवा कांग्रेस’ लेख्ने नीति कान्तिपुर सम्पादकीय नेतृत्वले लियो । तर, बलरामजीले समाचार लेख्दा ‘नेपाली कांग्रेस’ नै लेख्ने गर्थे, छापिँदा ‘कोइराला कांग्रेस’ हुँदै छापिन्थ्यो । डेस्कका सहकर्मीले उनको समाचारमा ‘नेपाली’ सर्च गर्दै त्यसलाई ‘कोइराला’ ले ‘रिप्लेस’ गरिदिन्थे । डेस्कका सहकर्मीहरू आग्रह गरिरहन्थे, ‘बलराम दाइ, नेपाली कांग्रेस छापिँदैन । कोइराला कांग्रेस नै लेख्नुभए हामीलाई सजिलो हुन्थ्यो ।’ तर, बलरामजीले आफ्नो धर्म निर्वाह गर्न छाडेनन्, ‘नेपाली कांग्रेस’ नै लेखिरहे । कान्तिपुरका पानामा लामो समयसम्म ‘कोइराला कांग्रेस’ छापिइरह्यो । कार्यक्षेत्र फरक भएपछि बलरामजीको र मेरो संयुक्त बाइलाइन बिरल बन्दै गयो, कांग्रेसभित्र ठूला घटना हुँदाबाहेक ।
उनी पत्रकार महासंघको चुनावमा एकपटक सदस्य र अर्कोचोटि सचिवको उम्मेदवार बने । उनलाई जिताउन भरमग्दुर सहयोग गरेँ । दुवै पदमा उनले चुनाव पनि जिते । उनी महासंघमा सदस्य र सचिव भएपछि मुलुकभरका पत्रकारसँग सम्पर्कमा गए । मचाहिँ पत्रकार महासंघको महाधिवेशनमा मतदाता मात्रै रहेँ ।
२०६५ भदौमा कान्तिपुर प्रकाशनका लगानीकर्ता विभाजित हुन पुगे । त्यो विभाजनले सम्पादकीय नेतृत्वमा पनि असर पार्यो । त्यसपछि म कान्तिपुर दैनिकको समाचार सम्पादक बनेँ भने बलरामजी ‘चिफ रिपोर्टर’ मा नियुक्त भए । नागरिक दैनिक खुलेपछि कान्तिपुरका पूर्वसम्पादक नारायण वाग्ले नागरिकका प्रधानसम्पादक भए । बलरामजी पनि नागरिकतिर गएपछि केही समय सहकार्य टुट्यो । फेरि कान्तिपुरमै उनी फर्किएपछि सहकार्य जोडियो । २०७५ साउनमा म कान्तिपुर प्रकाशनबाट बाहिरिएपछि फेरि स्वाभाविक रूपमा सहकार्य टुट्यो । भेटघाट पातलो भयो र टेलिफोन सम्पर्कमा सीमित रह्यो । झन्डै २८ वर्षे सहयात्राका दौरानमा बलरामजीसँग कुनै पनि विषयमा सामान्य मतमतान्तर वा विवाद भएको घटना मलाई याद छैन ।
सम्पादनमा उनको राम्रो दक्षता थियो । तर, मसँग सम्पादनको अनुभव थिएन । मैले लेखेका समाचार डेस्कमा पठाउनुपूर्व एकपटक उनलाई देखाउने बानी बसेको थियो । मैले २०५८ मा ‘भ्रष्टाचारको शल्यक्रिया’ पुस्तक लेखेँ । त्यो पुस्तकको सम्पादन उनैले गरेका हुन् । २०६१ मा प्रकाशित मेरो ‘विदेशी सहायताका विसंगति’ पुस्तकको सम्पादन पनि उनैबाट भयो । भाषामा दख्खल भएको हुँदा बलरामजीसँग सधैंभरि मेरो आग्रह रहिरहन्थ्यो, ‘संसद् या प्रशासनबारे किताब लेख्नुस्, त्यसमा म सहयोग गर्छु ।’ सधैंभरि जवाफ हुन्थ्यो, ‘म लेख्छु ।’ तर, त्यो दायित्वचाहिँ उनीबाट निर्वाह भएन ।
लामो समयको सहकार्यकै कारण मलाई लाग्छ, उनी पत्रकारिता र जिन्दगीदेखि हार खाने व्यक्ति होइनन् । सधैंभरि खरो, निर्भीक र निडर लेखनमा डटिरहेका व्यक्ति हुन् । त्यहीकारण मन्त्रिपरिषद्का नीतिगत निर्णयका विषयमा समाचार लेख्दासमेत उनलाई ‘अरिंगाल’ हरूले सामाजिक सञ्जालमा ‘ट्रोल’ मा पार्ने क्रियाकलापसमेत भयो । यद्यपि त्यतिखेर अरिंगाल शब्द ‘क्वाइन’ भएको थिएन । कतिले ‘श्रद्धाञ्जली’ शब्दसम्म प्रयोग गरे, संवेदनहीन चरित्र प्रदर्शन गर्दै ।
लेखक गुरचरण दासले ‘दी डिफिकल्टी अफ बिइङ्ग गुड’ मा असल–इमानदार पात्रहरूले ‘संकट’ भोग्नुपर्छ भनी ऐतिहासिक उदाहरण प्रस्तुत गरेका छन्, त्यसबेला त्यही नियतिमा बलरामजी पनि परे । सोझा, असल–इमानदारकै पहिचानसहित बलरामजी बिदा भए । आत्माले शान्ति पाओस्, श्रद्धाञ्जली बलरामजी !
– कान्तिपुर कोसेलीमा प्रकाशीत