कोरोना रिपोर्ट नआउँदै शव जलाएपछि मलामीहरु तनावमा

मूलखबर संवाददाता
काठमाडौं, ६ असार

कोभिड–१९ को लक्षण देखिएर अस्पतालमा मृत्यु भएका बिरामीको रिपोर्ट नै नआई परिवारले दाहसंस्कार गरेपछि मलामीहरु तनावमा परेका छन् । मृत्यु हुनेमा धनुषाको लालगढका ३५ वर्षीय पुरुष छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

बिरामी युवकलाई गत मंगलबार काभ्रेको धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएपछि ‘शव राख्ने ठाउँ छैन’ भन्दै अस्पतालले रिपोर्ट नआउँदै दाहसंस्कार गर्न लगाएको आफन्त कृष्ण खनालले बताए ।

‘मृतकमा कोरोना रैछ भने हामी मलामी सबैलाई सर्छ, रिपोर्ट नआएसम्म शव लैजाँदैनौँ भन्दा अस्पतालले मानेन,’ उनले भने, ‘रिपोर्ट आउन धेरै दिन लाग्छ भनेर जबर्जस्ती शव उठाउन लगाए । मर्ने त मरेर गए, जिउँदालाई पनि रोग लाग्ने जोखिम भयो ।’ ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएका लालगढका ती युवक एक सातादेखि बिरामी थिए । निकै गाह्रो भएपछि परिवारले उनलाई बर्दिवासको शुभ स्वस्तिक अस्पतालमा लगेका थिए । ‘कोभिडको लक्षण छ’ भन्दै अस्पतालले बिरामीलाई जनकपुर अञ्चल अस्पताल रिफर गरेको थियो ।

जनकपुर अस्पतालले एम्बुलेन्सबाट बिरामी नझार्दै सुई लगाएर घर पठाएको आफन्तले बताए । ‘घर गएर आराम गर्नु भनेर पठाए,’ आफन्तले भने, ‘हामीले घर लग्यौं, तर उनलाई झन् गाह्रो भएपछि एम्बुलेन्समा हालेर धुलिखेल ल्याएका थियौं ।’ धुलिखेल ल्याएकै दिन उनको स्वाब निकालेर परीक्षणका लागि पठाइएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो । उनलाई भेन्टिलेटरमै राखिएको थियो । उपचारका क्रममा गत बिहीबार मृत्यु भयो । आफन्तले शव बुझन नमानेपछि अस्पतालले ‘हामी उपचार गर्ने डाक्टरलाई त सर्दैन, तपाईंहरुलाई कसरी सर्छ रु’ भन्दै शव उठाउन भनिएको बताए ।

अन्य उपाय नलागेपछि आफन्तले सावधानीबिनै पशुपति आर्यघाटमा शुक्रबार साँझ दाहसंस्कार गरे । ‘मास्क लगाएर शवलाई एम्बुलेन्समा पशुपति लग्यौं,’ आफन्त खनालले भने, ‘काठमाडौंमा बस्ने ३० जना मलामी पनि सहयोग गर्न आए । हामी सबैलाई अब कोरोना सर्छ होला ।’ शव जलाउनुअघि आफन्तले स्वास्थ्य मन्त्रालयमा समेत फोन गरेर आफ्नो समस्या बताएका थिए ।

मृतकको रिपोर्ट पोजिटिभ आए उपचारमा खर्च भएको सबै रकम फिर्ता गर्न लगाउने गैरजिम्मेवार जवाफ पाएको उनले बताए । ‘पैसा फिर्ता दिएर हामीलाई रोग नलाग्ने हो र रु,’ उनले भने, ‘धेरै हल्ला नगर्नू भन्दै हाम्रो कुरा सुनेनन् ।’ निर्देशिका अनुसार नै शव जिम्मा गाएको धुलिखेल अस्पतालका प्रवक्ता डा।ताम्राकारले बताए । ‘हो बिरामीलाई श्वासप्रश्वासको समस्या थियो । मृत्यु पनि भयो,’ उनले भने, ‘मृत्यु भन्दैमा सबै कोभिड नै हुन्छ भन्ने हुँदैन ।’ मृतकको रिपोर्ट पोजिटिभ आए कन्ट्याक ट्रेसिङ गर्ने भन्दै यस विषयमा उनले कान्तिपुरसँग थप संवाद गर्न चाहेनन् ।

मरेको व्यक्तिबाट कोभिड संक्रमण नसर्ने भएकाले रिपोर्ट नआउँदै दाहसंस्कार गर्न मिल्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । ‘आफन्तले शव व्यवस्थापन गर्दा विशेष सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘सावधानी नपआउँदा जोखिम भने हुन्छ नै ।’ शंकास्पद व्यक्तिको रिपोर्टबिना आफन्तलाई शव जिम्मा लगाउन नहुने जनस्वास्थ्यविद् डा। समीरमणि दीक्षित बताउँछन् । ‘सावधानी अपनाइएन भने भोलि दाहसंस्कारमा संलग्न सबै संक्रमित हुने जोखिम हुन्छ,’ उनले भने,‘शंकास्पद्को मृत्यु भएपछि रिपोर्टबिनै शव दिनुभन्दा रिपोर्ट छिटो आउने व्यवस्थापन मिलाएर समस्या समाधान गर्न सकिन्छ ।’ कान्तिपुरमा फतिमा बानुको रिपोर्ट