काेराेनाकाे खाेप बनाउने डा. दासलाई सामाजिक विकास मन्त्री दुलालकाे साथ र हाैसला

मूलखबर संवाददाता
काठमाडौं

हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा तयार पारिएको भनिएको कोरोना भाइरसविरुद्धको खोप निर्माणकर्ता डा ललितकुमार दासलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्री दुलालले साथ र हाैसला दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त कलेजका प्रा.डा ललितकुमार दासले ७० दिन लामो मिहेनतपछि कोरोना विरुद्धको खोप तयार भएको बताएका थिए ।  सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययन अनुसन्धानबाट  आफूले खोप तयार गरेको जिकिर उनले गरेपछि उनको अनुसन्धानमा प्रदेश सरकारले चासो राखेको हो । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले यसअघि नै उनले आफ्नो प्रयोगशालामा खोप तयार गर्न लागेको बताएपछि अनुगमन समेत गरेका थिए ।

उनले खोप तयार गर्दै अघि बढ्नका लागि हौसला दिएका थिए । साथै, सहयोग गर्ने पनि बताएका थिए । डा. दासले आफ्नो अध्ययन अनुसन्धानबाट रोगविरुद्धको खोप तयार भएको जिकिर गरेपछि शुक्रबार सामाजिक विकास मन्त्रालयमा सोको नमुना प्रदर्शन समेत भएको थियो ।  प्रदर्शन तथा विज्ञहरुको भिडियो कम्फेरेन्समार्फत यसको उपयोगिताको बारेमा छलफल समेत भएको छ ।

मन्त्री दुलालले भने,‘कोभिड १९ विरुद्ध उहाँले दुईथरि खोप तयार गर्नुभएको छ । एउटा कोरोना भाइरसलाई निष्क्रिय बनाउने औषधि उहाँले ६ वटा स्याम्पल तयार गर्नुभएको छ । त्यो ६ वटा स्याम्पललाई परीक्षण गरेर त्यसबाट कुनचाँही सफल हुन्छ त्यो हेर्न बाँकी छ । उहाँले यो केमिकलबाट तयार पार्नुभएको होइन् । एउटा स्याम्पल सफल बनाउने भन्ने उहाँको प्लान हो ।’ साथै, उनले कोरोनाविरुद्ध लड्नका लागि शरिरमा चाहिने रोग प्रतिरोधी क्षमता बढाउनका लागि पनि स्याम्पल तयार गरेका छन् । मन्त्री दुलालले अघि भने,‘अर्को उहाँले कोभिड विरुद्ध लड्नका लागि मानव शरिरमा इम्युनिट पावर (रोग प्रतिरोधी क्षमता) वृद्धि गर्नका लागि ३ वटा स्याम्पल तयार गर्नुभएको छ । त्यो ३ वटा स्याम्पल फरक फरक कम्पोजिशन (संयोजन)मा छ । त्यो ३ वटा स्याम्पल प्रयोग गरेर एउटाले काम गर्छ भन्ने उहाँको अध्ययनले देखाउँछ ।’ मन्त्री दुलालका अनुसार डा. दासको अध्ययनलाई अब परीक्षणको चरणमा अघि बढाउनपर्नेछ । ‘६ वटा निष्क्रिय पार्ने स्पाम्लमध्ये कुनचाँहीले गर्छ त्यसैलाई अघि बढाउने भन्ने उहाँको कुरा छ । अब यसलाई परीक्षणमा लानपर्ने भन्ने उहाँको कुरा छ ।’ उनले भने, ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतबाट आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि उहाँको नमूना प्रचलित पद्धति अनुसार परिक्षणमा जान्छ र त्यसले देखाउने प्रभाका आधारमा थप परिणाम आउनेछ । उहाँले विकास गरेको स्याम्पलहरुको प्रपोजल पेश गर्नुपर्छ । र त्यो पेश भइसकेपछि अनुमति दिने वा नदिने भन्ने कुराचाँही निर्णय हुन्छ । अनुमोदन भयो भने त्यो कानुनी रुपमा अघि बढ्छ ।’ प्रदेश सरकारको तर्फबाट उनलाई हौसला प्रदान गर्ने, खोपको अन्य प्रक्रियाका लागि सहजीकरण गर्ने र स्याम्पल परीक्षणसम्मका लागि सहयोग गर्ने लगायतका काम भइरहेको उनले बताए ।  ‘औषधी सम्बन्धि डब्लुएचओको गाइलाइन्स अनुसार उहाँले सुरुदेखि नै काम गरेको देखियो ।’ उनले भने,‘कोरोना भाइरसकोबारेमा निरन्तर भ्याक्सिनहरु कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा लागेको देखियो ।’ वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी  गरेका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट  निर्माण गरिएको हो  । केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति  लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको  हो ।- समाचार दैनिक