अविचल योद्धा क.अर्जुन ब.भण्डारी हार्दिक श्रद्धाञ्जली !(जीवनीसहित)

इन्द्रप्रसाद गौतम (जगतजंग)
रसुवा

नुवाकोट विदुर नगरपालीका वडा नं. ९ आँगापुटारमा बुबा हेम वहादुर भण्डारी र आमा पद्यम कुमारी भण्डारीको कोखवाट २०१० फागुण ०६ गते जन्मनु भएका अर्जुन वहादुर भण्डारीको यहि २०७७ जेठ १२ गते असमायीक निधन हुन पुगेको छ । उहाँ लामो समयदेखि नसाको रोगवाट पीडित हुनुहुन्थ्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि साथै उहाँको श्रीमती निर्मला भण्डारी, छोरा राजु भण्डारी, छोरी अन्जना र उषा भण्डारी, दाजु अमृत ब.भण्डारी र भाई रामराजा भण्डारी लगायत सबै परिवारजनहरुलाई गहिरो समवेदना !

राजनीतिक जीवन :

विद्यार्थी जिवनदेखि नै क्रान्तिकारी चेतनाद्वारा लैस हुनु भएका क.अर्जुन व. भण्डारी २०३४ मा पुष्पलाल समूहको नुवाकोट जिल्ला सम्पर्क समितीका सदस्य वन्नु भयो । २०३७ फागुनमा तत्कालिन ने.क.पा.(चौम) का वागमति व्युरो इन्चार्ज वाचस्पति देवकोटा र व्यूरो सेक्रेटरी देव गुरुङको उपस्थितिमा ललितपुर पाटनमा सहिद वीर व. मोक्तानको मामाको छोराको कोठामा भएको भेलाद्वारा उहाँलाई रसुवा जिल्लाको संस्थापक सेक्रेटरीमा चयन ग¥यो । सोही महिनामा ललितपुर पाटनमा गोविन्द मैनालिको कोठामा भएको भेलाले उहाँलाई नुवाकोट जिल्लाको संस्थापक सदस्यमा चयन ग¥यो । २०४० मा ने.क.पा. (मशाल) को नुवाकोट जिल्ला सदस्य, २०४० देखि २०४२ सम्म लडाकुदल विशेष समिती नुवाकोटको संयोजक, २०४७ सालमा नेकपा (मशाल) रसुवा जिल्ला सेक्रेटरी, २०४७÷२०४८ नेकपा (एकताकेन्द्र ) रसुवा जिल्ला सेक्रेटरी, २०५१ नेकपा (माओवादी) वागमति उपव्युरो सदस्य तथा रसुवा जिल्ला सेक्रेटरीमा चयन हुनुभयो । साथै एकिकृत नेकपा (माअ‍ोवादी), नेकपा (माओवादी केन्द्र) को विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो । पछील्लो समयमा उहाँ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जेष्ठ कम्यूनिष्ट मञ्चका प्रस्तावित केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

संघर्षमय जिवन : 

२०३५/०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रह, २०३८ को शिक्षक आन्दोलन, २०३८ को पञ्चायती चुनाव वहिस्कार आन्दोलनहरुमा रसुवा र नुवाकोटमा क. अर्जुन व. भण्डारीको नेतृत्वदायी भूमिका रहेको थियो । स्थानिय सामन्त, जाली, फटाहाविरुद्ध भएको ग्रामिण वर्ग संघर्ष, निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको पर्चा, पोस्टर, भित्तेलेखन, छापमार जुलुस, मसाल जुलुसहरु उहाँको नेतृत्वमा रहेको लडाकु दलको विशेष समीतीले जिल्लाव्यापी रुपमा गरेको थियो । २०३९ चैत्रमा भएको रसुवा जिल्लाको विद्यार्थी सम्मेलन, शिक्षक आन्दोलन लगायतको क्रान्तिकारी गतिविधिहरुका कारण २०४१ मा रसुवाको कालिका हिमालय मा.वि.का ८ जना शिक्षकहरु अर्जुन व. भण्डारी, शुभलाल श्रेष्ठ, चित्रकान्त सुवेदि , कृष्ण कु. ढकाल, प्रचण्ड प्रधान, शान्ति प्रधान, नारायण सत्याल, सविर हुसेन सेखलाई तत्कालिन पञ्चायति शासकद्वारा बर्खास्त ग¥यो । सोहि समयदेखि क.अर्जुन व.भण्डारी पूर्णकालिन बन्नुभयो ।

२०४२ मा काठमाण्डौं भृकुटी मण्डपमा भएको सहिद क. मित्रमणि आचार्यको श्रद्धाञ्जली सभा र प्रतिरोधात्मक संघर्षको क्रममा गिरफ्तारीमा परी उहाँले चरम शारीरीक यातना व्यहोर्नु भयो । २०४२ आषाढ ०६ गते भएको बम काण्डपछि उहाँ पुनः गिरफ्तार पर्नुभयो । पञ्चायती निरंकुश शासकहरुले दिएका चरम शारीरिक यातना र जेलनेलका कारण सोहि अबधि देखिनै उहाँ नसाको रोगबाट पिडित हुनु पुग्नुभयो । २०४६ को जनआन्दोलन पछि राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा विभिन्न खालको नेपाल बन्द लगायतका आन्दोलनहरु, चुनावको उपयोग गरी संसदको भण्डाफोर तथा २०५१ को चुनाव वहिष्कार लगायतका आन्दोलनहरुमा उहाँको सकृय सहभागीता रहेको थियो । २०५१ मा रसुवा जिल्लामा गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाउने क्रममा उहाँ गिरफ्तार पर्नुभयो । २०५१ पmागु पूर्णिमाको दिन काँगे्रसी कार्यकर्ताहरुले उहाँ र उहाँको श्रीमतीमाथी आक्रमण गर्दा उहाँले कडा प्रतिरोध गर्नुभएको थियो । २०५२ फागुन १ गतेदेखि शुरु भएको महान जनयुद्धमा उहाँको सक्रिय सहभागिता रहेको थियो ।

४० र ५० को दसकमा रसुवा र नुवाकोट मात्र होइन नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका एक होनहार योद्धाका रुपमा क. अर्जुन भण्डारीलाई लिन सकिन्छ । उहाँले देखाउनु भएको वर्ग संघर्षको बाटो, राजनीतिक आन्दोलन र माक्र्सवादीे शिक्षाले आज रसुवा र नुवाकोटका हजारौं युवाहरु कम्युनिष्ट पार्टीमा संगठित हुन पुगेका छन । राष्ट्रिय रुपमै पनि त्यस अवधिका हजारौ विद्यार्थीहरु र शिक्षकहरु कम्युनिष्ट आन्दोलनमा लामवद्ध भएका छन । उहाँ रसुवा र नुवाकोटको कम्युनिष्ट पार्टीलाई जनतासम्म पु¥याउने योग्य र कुशल नेतृत्वको रुपमा हामी सामु स्थापित हुनुहुन्छ ।

निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, जनयुद्ध र जनयुद्धका पछिका दिनहरुमा नसाको नियमित औषधी सेवन गरेर पनि पार्टी र कम्युनिष्ट आन्दोलनप्रति अगाध लगाव राख्नुहुने उहाँले अध्यक्ष क. प्रचण्डलाई आफ्नो आदर्श तथा प्रेरणा पात्रको रुपमा र उहाँप्रति उच्च सम्मान र विश्वाश गर्नुहुन्थ्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न चौम – मशाल – एकताकेन्द्र हुँदै माओवादी वनाउने सवालमा सधै अध्यक्ष क.प्रचण्डको सहि विचारलाई अविचलित रुपमा साथ दिनुहुने क. अर्जुन व. भण्डारी पछिल्लो अवधिमा भने आफ्नो रोगका कारण सकृय सहभागी हुन सक्नुभएन ।

कुनै लाभको पदविना मैनवत्ती झै आफु जलेर रसुवा र नुवाकोटका जनतालाई मुक्तिको बाटो देखाउनुहुने भण्डारी आज हामी सामु हुनुहुन्न तर उहाँ रसुवा र नुवाकोटको कम्युनिष्ट आन्दोलन र उत्पीडित वर्गमा सदा अमर रहनु हुनेछ । उहाँप्रति श्रद्धाञ्जली गर्नुको अर्थ उहाँको सम्मानमात्र होइन, उहाँले देखाउनु भएको बाटो, उहाँको त्याग, तपस्या, साहसको अनुसरण गर्दै उत्पीडित वर्गको मुक्तिको बाँकी काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु हो । लालसलाम क. अर्जुन ब. भण्डारी ।

– इन्द्रप्रसाद गौतम (जगतजंग), रसुवा, २०७७/०२/१४