सावधान ! यी हुन् नेपालका चट्याङग्रस्त जिल्ला र क्षेत्र

मूलखबर संवाददाता
काठमाडौं, १६ बैसाख

सरकारले ५ वटा जिल्ला तथा ती जिल्ला हुँदै घेरिएका थप ३ भुभागलाई चट्याङग्रस्त क्षेत्रको सूचीमा राखेको छ । हरेक वर्ष चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति र घटना संख्यालाई आधार मानेर सरकारले केही दिनअघि मात्रै चितवन, मकवानपुर, झापा, मोरङ र उदयपुरलाई चट्याङ ग्रस्त जिल्लामा समेटिएको हो ।

चुरे तथा पर्वतीय क्षेत्रको पूर्वदेखि पश्चिमसम्म, नारायणी नदीको दुवै तर्फको तटीय भुभाग तथा झापा र मोरङ सीमा जोडिएका उत्तर–दक्षिण भुभागलाई पनि उच्च चट्याङबाट जोखिमयुक्त क्षेत्रमा राखिएको छ । यससँगै यो क्षेत्र अन्तर्गत बसोबास गर्ने मानिसले चट्याङबाट बच्न सबैभन्दा बढी सावधानी अपनाउनु पर्ने पनि देखिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले केही दिनअघि मात्रै ५ जिल्ला र तीनवटा भुभागलाई चट्याङग्रस्त क्षेत्रका रुपमा घोषणा गरेर रोकथाम तथा क्षति न्युनीकरणको तयारी थालिएको बताए । हटस्पट क्षेत्र घोषणा गर्नुअघि प्राधिकरणका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर छलफल गरेका थिए । प्राधिकरणले नेपालका चट्याङग्रस्त क्षेत्रलाई बढी जोड दिएर ‘इलेक्ट्रोनिक म्यापिङ नै उतारेर अध्ययन थालेको छ । ‘हरेक वर्ष चट्याङबाट हुने मानवीय र भौतिक क्षतिको विवरण तथा घटनाको अध्ययन/अनुसन्धान गर्दा नेपालका ५ जिल्ला, त्यससगै जोटिएका नदीका दुवै तटीय क्षेत्र तथा चुरेपर्वतका पूर्वदेखि पश्चिमसम्मको भुभाग बढी जोखिमयुक्त रहेको पायौं,’ पोखरेलले भने, ‘त्यसकै आधारमा यी क्षेत्रलाई हटस्पट घोषणा गरेर प्राकृतिक विपद् व्यवस्थापनमा आवश्यक बनाउन लागिएको छ ।’ नेपाल विश्वमै चट्याङको उच्च जोखिमयुक्त क्षेत्र रहेको उनले बताए । चट्याङ प्राकृतिक विपद भएका कारण आकाश गड्गडाउने तथा बढी जोखिमयुक्त समयमा घरबाहिर ननिस्कन उनले सबैलाई सुझाव दिए ।