प्रचण्ड र माधवले एकै स्वरमा भने एकताबद्ध बनौं, पार्टी फुटाउने खेल बन्द गरौं
आज बैसाख १० वा अप्रील २२ । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको दिन । कम्युनिष्ट पार्टीको इतिहासमा अनेकौं टुट फुट र विभाजनका कारण दर्जनौं कम्युनिष्ट नामका पार्टीहरु गठन भए । तर पछिल्लो समयमा थुप्रै पार्टीहरु एकठाउँमा बनका छन् र विशेष गरी दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्माण भएको छ । जसले निर्वाचनमा झण्डै दुई तिहाई मत प्राप्त गरी सत्ता सञ्चालन गरिरहेको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवसका अघिल्लो दिन सोही पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपामा पनि तिब्र मतभेद र तरंग सिर्जना भएको छ । प्रधानमन्त्रीले पाटीसँग छलफल नै नगरी अध्यादेश ल्याएको र त्यसलार्य राष्ट्रपतिले केही घण्टामै जारी गरेपछि राजनीति नै तरंगित र आशंकीत बनेको मात्रै छैन प्रधानमन्त्रीले नै पाटी फुटाउन खोजेको स्पष्ट भएको छ भने बल्ल बल्ल स्थापित भएको राजनीतिक स्थिरताको प्रकृया नै भंग गरेको पुष्टि भएको भन्दै प्रधानमन्त्री ओलीको तिब्र आलोचना भएको छ ।
नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै एकतावद्ध भएर अगाडि बढ्ने बताएका छन् । छुट्टाछुट्टै सन्दैश जारी गर्दै दुबैजनाले पार्टी एकतामा आघात पुर्याउने कार्यको डटेर विरोध गर्न अपील गरेका छन् ।
प्रचण्डले भनेका छन् – यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।
प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।
‘ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
प्रचण्डले भनेका छन्, ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।
७१ वर्ष लामो राजनीतिक संघर्षका दौरान कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र नगरेको बरु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको प्रचण्डले उल्लेख गरेका छन् ।
कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका प्रचण्डको भनाइ छ ।
‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस ९कोभिड–१९० मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको भन्दै प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र जनसमुदायमा अपील गरेका छन् ।
सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली तथा बेपत्ता र घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै प्रचण्डले नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।
त्यसैगरी नेता नेपालले पार्टीलाई एकतावद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहनसमेत आह्वान गरेका छन्।
पार्टीको विधि पद्धति तथा संगठनात्मक प्रणाली,नेतृत्व तहबीचको विश्वास,कार्यकर्ताबीचको एकतावद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र नेपाल कम्युनिष्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका सफलताका साथ पूरा गर्न सकिने उनले बताएका छन्।
हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ। यस्तो अवस्थामा हामीले सिंगो पार्टी पङतिलाई भवनात्मक रूपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ। उनले भनेका छन्, पार्टीलाई विधिका आधारमा सहमति समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ-आफ्नो ठाउबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु। व्यक्तिगत, संकिर्ण स्वार्थ व्यक्तिगत आग्रह वा अहम् नगर्नसमेत उनले आग्रह गरेका छन्।
अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभइ पार्टी एकताको मर्म,भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु सबैको दायित्व भएको समेत उनले बताएका छन्।
राष्ट्र, सत्तारूढ पार्टी सहित अन्य पार्टीका नेता कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणविरूद्ध लड्ने काममा केन्द्रीत हुनुपर्ने भन्दै वरिष्ठ नेता नेपालले विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने काम गर्न नहुने धारणा राखेका छन्।
संविधान र कानुनी शासनका मान्यताबाट प्रहार हुने अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम र कुरा गर्न नहुनेमा समेत उनले जोड दिएका छन्।