भिडियो कन्फेरेन्समा मुख्य मन्त्रीले भने- लकडाउन थप्नुपर्छ

मूलखबर संवाददाता
काठमाडौं

मुख्यमन्त्रीहरूले लक डाउन लम्ब्याउन र अझै कडाइ गर्न संघीय सरकारलाई सुझाएका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडिओ कन्फरेन्स गरेका मुख्यमन्त्रीले लक डाउनको विकल्प नरहेको सुझाएको बताएका छन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लक डाउनमा अझै कडाइ गर्नसमेत भनेका थिए।

नेपालसँग खुला सीमा भएको भारतमा कोरोनाको संक्रमण बढ्ने क्रम तीव्र भइरहेकाले तत्काल लक डाउनलाई कुनै पनि बहानामा खुकुलो पार्न नहुने धारणा आफूले राखेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बताए।

हामीले पनि ६ सय भारतीयलाई नेपालमै क्वारेन्टाइनमा राखेका छौं। त्यही भएर नेपालीलाई पनि उनीहरूले सुरक्षित राख्नुपर्छ,’  भिडिओ कन्फरेन्समा राखेको धारणाबारे गुरूङले भने, ‘हामी भावनामा बहकिएर लक डाउनलाई खुकुलो गर्नु हुँदैन। एकजना संक्रमितले हजार जनालाई प्रभावित पार्न सक्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्छ।’

भातरतर्फ रहेका नेपालीको अवस्थाबारे भने सरकराले गम्भीरता देखाउनु पर्ने र उनीहरूलाई आवश्यक सहयोग गर्नु पर्ने उनले बताए। लापरबाही गर्दा अमेरिकाको के हालत भयो भन्ने ध्यान दिनुपर्ने भन्दै मुख्यमन्त्री गुरूङले अहिलेकै अवस्थालाई कायम राख्न सकियो भने मुलुकका लागि ठूलो उपलब्धि हुने सुझाएका छन्।

लक डाउनलाई कडा गरियो भने दीर्घकालीन रूपमा आर्थिक क्षेत्रसमेत बलियो हुने र नेपाल सुरक्षित देश हो भनेर पर्यटकसमेत आउन सक्ने उनको बुझाइ छ।

‘भारतमा संक्रमण ह्वारह्वार्ती भएको छ, त्यहाँत आगो बलेजस्तै भइसकेको छ। डढेलो लागिरहेको बेलामा नाका खोलियो भने त अहिलेसम्म गरेको सबै काम बेकार हुन्छ। लक डाउन कडा गर्नुपर्छ। झन् सीमा त कुनै हालतमा खोल्नै भएन,’ उनले भने।

अन्तर्राष्ट्रिय उडानलाई वैशाख १८ गतेसम्म स्थगन गरिएको भए पनि यसलाई अझै बढाउनु पर्ने र भारतसँगको सीमा लक डाउनलाई कायम राखिराख्न पर्ने धारणा आफ्नो रहेको गुरूङले बताए।

लक डाउन कायम राखेर विदेशबाट आउने सबैको परीक्षण गर्नुपर्ने पक्षमा आफू रहेको र त्यही धारणा प्रधानमन्त्रीसँग राखेको समेत उनले बताए।

कोरोना भाइरसको लक्षण ३७ दिनसम्म पनि देखिने भएकाले खेलाँची गर्न नहुने भन्दै मुख्यमन्त्री गुरूङले प्रधानमन्त्री ओली पनि ठूलो मात्रामा परीक्षण गर्ने पक्षमा रहेको बताए।

गण्डकी प्रदेशले चैत महिनाभित्र विदेशबाट प्रदेशमा आउनेहरूको रेकर्ड तयार पारिसकेको र  वैशाख १० गतेभित्र सबैको परीक्षण गरिसक्ने योजना रहेकोसमेत उनले सुझाए।

विदेशबाट आउनेहरू को-कहाँ छन् भन्ने पत्ता लागिसकेको र कोही संक्रमित देखिए संक्रमितको सम्पर्कमा आउनेहरूलाई समेत परीक्षण गर्ने प्रदेश सरकारको तयारी छ।

‘हाम्रो ल्याबको क्षमता काठमाडौं टेकुस्थित केन्द्रीय ल्याबको जस्तै छ। त्यसैले हामीले चाँडोभन्दा चाँडो विदेशबाट आउनेको परीक्षण गरेर सक्छौं। कोही संक्रमित भेटिए उनीहरूको सम्पर्कमा आउनेको पनि परीक्षण गर्छौं। त्यसपछि मात्रै हामीले लक डाउनलाई खुकुलो पार्नेबारे पुनर्विचार गर्न सक्छौं।’

अहिलेसम्म संक्रमण नियन्त्रणमा रहन सक्नुको कारण लक डाउन भएको भन्दै मुख्यमन्त्री गुरूङले आन्तरिक रूपमा पनि लक डाउनलाई कडाइ गर्नुको विकल्प नरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गण्डकी प्रदेशमा लक डाउनभरि बाहिरबाट एकजनालाई पनि छिर्न नदिने भनेर जानकारी गराएको उनले बताए।

‘काठमाडौंका मान्छे बाहिर लैजाने, वीरगन्जका मानिसमाथि ल्याउने, माथिका तल लैजाने खालका निर्णय नगर्न मैले हिजो पनि सुझाव दिएको छु,’ गुरूङले भने।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि लक डाउनको विकल्प नरहेको बताए।

‘लक डाउनलाई लामो त गर्नैपर्छ। यसको सबैभन्दा ठूलो उपचार नै यही हो। मानव जगतलाई नै बचाउन समाजिक दूरीको कुनै विकल्प छैन। मैले प्रधानमन्त्रीसँग पनि यही भनेको छु,’ मुख्यमन्त्री राउतले सेतोपाटीसँग भने, ‘सबै मुख्यमन्त्रीहरूकै धारणा लक डाउनलाई निरन्तरता दिनुपर्छ भन्ने थियो। जबसम्म स्थिति नियन्त्रणमा आउँदैन तबसम्म यो जारी राख्नुपर्छ।’

जीवन रक्षाको लागि लक डाउन गर्नुबाहेक आफूले कुनै उपाय नदेखेको समेत राउतले बताए।

‘तीन हप्तामा वीरगन्जमा एकैदिन तीन वटा केस देखियो। अब त हाम्रो प्रदेशमा झनै गम्भीरता बढ्यो। ल भन्नुहोस् अब के गर्नुहुन्छ,’ उनले प्रतिप्रश्न गरे, ‘त्यो तीन जनाको सम्पर्कमा कति आएका थिए। कहाँ-कहाँ छन् हामीले खोज्नुपर्छ। नत्र धेरै प्रभावित हुने अवस्था आउँछ। यो स्थिति रह्यो भने तीन हप्ता त के तीन महिनासम्म पनि लक डाउन रहनसक्छ।’

जबसम्म सबै मानिस सुरक्षित हुँदैनन् तबसम्म लक डाउन जारी रहने उनले बताए।

‘हामीले चाहेर पनि धेरै परीक्षण गर्न सकिरहेका छैनौं। हामीले कोशिश त गरिरहेका छौं। तर मेसिन पाउन गाह्रो छ। मेसिन थप्न हाम्रो प्रयास जारी छ,’ राउतले भने।

लक डाउनलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई सक्रिय बनाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सबैतिर जनचेतना बढाउने क्वारेन्टाइनमा राख्नेसमेत काम गरिरहेको बताए। कोही बाहिरबाट आएमा १५ दिन अलग्गै बस्न पर्छ भन्ने सकारात्मक सोचलाई गाउँ-गाउँमा पुर्‍याउन सकिएको उनले दाबी गरे।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका ९ जिल्लामै किटमार्फत र्‍यापिड टेष्टलाई अगाडि बढाइएको बताए।

प्रदेशमा अहिलेसम्म चारजना बाहेक सबैको नतिजा नेगेटिभ आएको र  संक्रमितहरूको पनि अवस्था सुधारोन्मुख रहेको उनले सेतोपाटीलाई जानकारी दिए।

‘अहिले सजक हुनपर्छ तर आत्तिन जरूरी छैन। पछिल्लो चरणमा अन्य मुलुकबाट नेपाल फर्किएका लगभग सबैको स्वाब लिने काम सकिएको छ। उनीहरूमध्ये धेरैको रिपोर्ट पनि आइसकेको छ। रिपोर्ट हेर्दा आत्तिनु पर्ने केही छैन,’ उनले भने, ‘हामीले त संघीय सरकारले भन्दा पहिला नै लक डाउन बढाएर २१ दिन पुर्‍याएको हो। क्वारेन्टाइन अवधि १४ दिनबाट लम्ब्याएर २१ दिन पुर्‍याएका छौं।’

भारतमा व्यापक रूपमा यो संक्रमण फैलिएको र धेरै नेपाली दाजुभाइ उता रहेकाले अहिले नै लक डाउन खोल्न नहुने प्रदेश सरकारको धारणा आफूले राखेकोसमेत उनले बताए।

‘नेपालमा संक्रमण रोक्न सामाजिक दूरी अपनायौं। विदेशबाट आउनेहरूलाई निगरानी राख्यौं, क्वारेन्टाइनमा राख्यौं। अझै पनि देशलाई सम्भावित संक्रमणबाट जोगाउन लक डाउन जरूरी छ,’ उनले भने, ‘खुला सीमा भएकाले हामीले अझै सतर्कता अपनाउन जरूरी छ। अहिले त हामीसँग एकै दिनमा आवश्यक परे ३०० जनाको परीक्षण गर्न सक्ने क्षमता पनि छ। हामीले सात दिने विशेष परीक्षण अभियान चलाउने सोचसमेत बनाएका छौं। त्यसको नतिजा पनि हेरौं।’

बैठकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंमा रहेकालाई बाहिर लैजाने प्रस्ताव राखेका थिए। पौडेलको प्रस्तावलाई अरू मुख्यमन्त्रीहरूले ठाडै अस्वीकार गरेका थिए।- सञ्जिव बगाले/ सेताेपाटिबाट