नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – प्रतीक प्रधान

प्रतीक प्रधान
काठमाडौं

नेपाल अचम्मको देश छ। हाम्रो शासन व्यवस्था जति लोकतान्त्रिक भनिए पनि व्यवहारमा ‘चोरहरूद्वारा चोरहरूका लागि जनताको नाममा गरिने शासन’ भएको छ। जनतालाई दासमात्र ठान्ने र तीमाथि कर र प्रशासनको दबाब दिएर बोली बन्द गराउने अनि आफू मनलागी गर्ने शासकहरूनै यहाँ उच्च पदमा पुग्दै आएका छन्। अकुत सम्पत्ति कमाएर त्यही सम्पत्तिले गुन्डा र बेइमानको समर्थन किनेर जनतामाथि धाक रबाफ देखाएर भोटको व्यापार गर्ने यस्ता नेतृत्वका कारण नेपाली जनता सधैँ निचोरिएका छन्। नेपाल अहिलेसम्म अत्यन्त गरिब देश भएको पनि यिनै नेताको कारणले हो।

कसैको घरमा चोरी गर्दा गर्दै चोर पक्राउ पर्‍यो भने त्यस्तो चोरलाई चोर भन्न पाइन्छ कि पाइन्न ? उसले कुनैपनि सामान बाहिर लिएर नगएको हुनाले चोर भन्न नपाइने हो कि ? अझ उसलाई प्रहरीकोमा बुझायो भने पनि ऊ आफै नैतिकताको आधारमा प्रहरीकहाँ उपस्थित भएको मान्नुपर्ने जस्तो बनाएको छ गोकुलप्रसाद बाँस्कोटाको काम कारबाहीले। उनी आफ कमिसनको बार्गेनिङ गर्ने, कमिसन एजेन्टले दिन्छु भनेको रकममा चित्त नबुझेर त्यसमा एक, दुई अर्ब बढाउन माग गर्ने। त्यो कुराको अडियो (भिडियो समेत छ भन्ने आरोपीको दाबी छ) सार्वजनिक भएपछि पनि नखाएको विष लाग्दैन भन्ने ! लाज नलाग्नुको पनि एउटा हद हुन्छ। ‘डामेर छाडेको साँढे’जस्तो भएर कसैलाई अलिकति इज्जत नगर्ने बाँस्कोटाले लाज, घीन सबै पचाइसकेका छन्।

नेपालमा सेक्युरिटी प्रेस ल्याउने प्रकरणमा मात्र यिनले भ्रष्टाचार गरे अरु विषयमा गरेका छैनन् भनेर चोखिने अवस्था रहेन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट दिएको राजीनामालाई नैतिकताको आधारमा दिएको राजीनामा भनेर जग हसाएका छन्। यीनले दिएको राजीनामालाई अनैतिकताको आधारमा दिएको राजीनामा भनेर बुझिनुपर्छ। नैतिकताको आधारमा राजीनामा दिने भनेको के हो र भ्रष्टाचारको पोल खुलेर अनुहारमा कालो दलिएपछि दिने राजीनामा भनेको के हो बाँस्कोटाले बुझेका रहेनछन्।

नैतिकताको आधारमा राजीनामा दिने एक उदाहरण भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीको दिन सकिन्छ। सन् १९५६ मा उनी रेलमन्त्री थिए। त्यस बखत् मद्रास नजिकै एक रेल दुर्घटनामा १५६ यात्रुको मृत्यु भएको थियो। उनले त्यस घटनामा नैतिकताको आधारमा राजीनामा दिएका थिए। त्यो घटनामा रेलको सिग्नल दिने व्यक्तिले राजीनामा दिएको भए त्यसलाई नैतिकताको आधारमा नभई अपराधको आधारमा राजीनामा दिएको भनिन्थ्यो। यति कुरा नैतिकता भएको भए बुझ्नुपर्ने हो।
त्यस्तै, वि.सं. २०४४ साल फागुन ३० गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना तथा बंगलादेशको टिमबीच फुटबल खेल भइरहँदा अचानक आँधीबेहरी आयो। त्यस हुरीबाट बच्न दर्शकहरूको भागाभाग भयो। भीडमा थिचिएर ९३ व्यक्तिको ज्यान गयो भने १०० बढी घाइते भए। त्यसबेला शिक्षामन्त्री केशरबहादुर बिष्ट थिए। खेलकुद उनको मन्त्रालयअन्तर्गत थियो। उनले घटनाको जिम्मेवारी लिएर नैतिकताको आधारमा राजीनामा दिए। त्यसलाई भनिन्छ नैतिकताको आधारमा दिइएको राजीनामा। त्यसबेला दर्शक निस्कन सक्ने ढोका सबै बन्द गराउन निर्देशन दिने व्यक्तिले राजीनामा दिएको भए त्यसलाई नैतिकताको आधारमा दिइएको राजीनामा भन्न मिल्दैन थियो।

त्यसैले आफ्नो घर कुर्न लगाएर, घर कुरुवालाई मन्त्री बनाएर र तिनै मन्त्रीलाई तराजुमा एक्लै र अन्य सबै मन्त्रीलाई अर्कोतिर राख्दा अन्य सबै मन्त्रीभन्दा बढी तौल हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यतिखेर नैतिकताको आभास हुनुपर्ने हो। प्रधानमन्त्री ओलीमा नैतिकताको खडेरी परिसकेको छैन भने उनले हो नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्ने। बाँस्कोटाले त अपराध पक्रिएको आधारमा दिएको हो राजीनामा जसलाई अनैतिकताका कारणले दिनुपरेको राजीनामामात्र भन्न सकिन्छ।

अहिले बालुवाटारको नैतिकता अब बाँस्कोटालाई कसरी बचाउन सकिन्छ भन्ने छलफलमा समेटिएको होला। एकथरी बाँस्कोटाको बहिर्गमनले खुसी भएका होलान् भने अर्काथरी आफू कमजोर र अभिभावकहीन भएको ठान्दै होलान्। तर, कसैलाई पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्यको विषयमा किञ्चित चिन्ता भए प्रधानमन्त्रीलाई सम्झाउनुपर्ने हो – अहिले उनले राजीनामा दिने समय हो।

सधैँ भ्रष्टाचारीको मुख समेत हेर्दिन भनेर कुर्लिने प्रधानमन्त्री आफैँ भ्रष्टाचारीको संरक्षक भएको बेहोरा सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियो सार्वजनिक गर्ने विजय मिश्रको भनाइबाट नै प्रमाणित भइसकेको छ। उनले प्रधानमन्त्रीलाई अहिले सार्वजनिक भएको अडियो दुई महिनाअघि नै उपलब्ध गराइसकेका रहेछन्। त्यही बेला प्रधानमन्त्रीले गोकुल बाँस्कोटाको राजीनामा माग्न सकेको भए अहिले उनलाई नैतिकताको खडेरी हुँदैन थियो। तर, प्रधानमन्त्री ओलीले त्यहीबीचमा कतिचोटी भ्रष्टाचार आफू पनि गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेर भाषण गरे ? भ्रष्टाचारीलाई काखी च्यापेर राख्ने अनि अरुलाई ठूला भाषण दिने प्रधानमन्त्री ओलीको नैतिकताको पोल अहिले खुलेको छ।

यतिमात्र होइन यती समूहलाई देशका कैयौं महत्त्वपूर्ण जमिन अत्यन्त सस्तोमा र कतिपय अवस्थामा नियमसमेत मिचेर भोग चलन गर्न दिएकोबाट पनि उनको अनैतिक चरित्र स्पष्ट भइसकेको हो। प्रधानमन्त्री ओलीले आफ्ना निकटका व्यक्तिलाई जोगाउने र पार्टीभित्रैका अरुलाई समर्थन गरेको शंकामा कसैलाई जरैबाट निमिट्यान्न पार्ने कोसिस गर्दै आएको धेरै गुनासो सुनिएको छ। अरु कसैले गलत कार्य गरेकोमा कारबाही गर्नुलाई अनैतिक मान्न मिल्दैन तर आफू निकटकालाई जेसुकै गर्ने छुट दिनु भने नैतिक हैन र भन्न पनि पाइँदैन।

यहाँ ठूलालाई सधै जे गरेपनि छुट र सानालाई कानुन तेर्स्याउने गरिन्छ। आफूले गरेको बदमासी र बदनियतपूर्ण कार्य कसैले कहिल्यै लेख्न, बोल्न र जनतालाई सूसुचित गर्न नसकोस् भन्ने नियतले अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने र प्रेसलाई दबाबमा राख्ने ऐन कानुन किन ल्याइयो भन्ने पनि बाँस्कोटाको उदाङ्गिएको चरित्रबाट स्पष्ट भएको छ। यी र यस्ता कानुनको समर्थनमा सधैँ उभिने र आफ्नो सरकारको राम्रो कामको मात्र प्रेसले बखान गरिदेओस् भन्ने चरित्रका प्रधानमन्त्री पनि बाँस्कोटाको बदमासीको हिस्सा हुन् भन्ने शंकारहित भइसकेको छ। यस्तो अवस्थामा केपी ओलीले नै प्रधानमन्त्री पदबाट राजीनामा गरेर नैतिकताको उदाहरण पेस गर्नुपर्छ। अन्तिम नैतिक जिम्मेवारी हुने पनि त प्रधानमन्त्रीकै हो।
(बाह्रखरीबाट लिइएको सामग्री।)