ओखलढुंगामा सवारी दुर्घटना बढ्दो, तीन वर्षमा ५८ दुर्घटना, ३४ को मृत्यु
जिल्लाको चम्पादेवी गाउँपालिका-५ सिद्धडाँडामा गत माघ १३ मा जिप दुर्घटना भयो। उक्त दुर्घटनामा उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा हिँडेका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भयो। चालकसहित अन्य तीन जना गम्भीर घाइते भए। बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटनाबाट घाइते तीनैजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो। दुर्गमा गाउँमा पछिल्लो समय सडक पुगेसँगै एकातिर सर्वसाधारणलाई सुविधा महसुस भएको छ भने अर्कातिर दुर्घटनाको जोखिम पनि उत्तिकै छ। सडक असुरक्षाकै कारण यात्राका क्रममा कुन बेला दुर्घटनामा परिएला कि भन्ने मनमा त्रास बोकेर हिँड्न बाध्य छन् स्थानीय।
तीन वर्षमा ५८ दुर्घटना, ३४ को मृत्यु आर्थिक वर्ष ०७३र०७४ देखि चालु आर्थिक वर्ष ०७६र०७७ को पुस मसान्तसम्मको अवधिमा ५८ सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ। त्यस्तै दुर्घटनाबाट १०७ जना घाइते भए। दुर्घटनाबाट मृत्यु हुनेमा २३ पुरुष ९ महिला छन्।
दुर्घटना हुने सवारीमा आधाभन्दा बढी जिप रहेको प्रहरी तथ्यांक छ। कतिपय दुर्घटना सडकका कारण हुने गरे पनि धेरैजसो दुर्घटना चालकको लापरबाहीले हुने गरेका प्रहरीको भनाइ छ। यस अवधिमा चालकको लापरबाहीबाट ७१ प्रतिशत दुर्घटना भएको ओेखलढुंगाका ट्राफिक प्रहरी इञ्चार्ज पदमप्रसाद भट्टराईले बताए।
त्यस्तै, तीन वर्षको अवधिमा जिल्लामा १३ हजार २ सय ६४ सवारी कारबाहीमा परेको पनि इञ्चार्ज भट्टराईले बताए। सवारी कारवाहीले राजस्वसमेत वर्षेनी बढ्दै गएको देखिन्छ। प्रहरीले सवारी कारबाहीमा ओखलढुंगामा आव ०७३र०७४ मा २५ लाख ६६ हजार, ०७४र७५ मा २१ लाख ८२ हजार, ०७५र७६ मा २४ लाख २९ हजार ५ सय र चालु आव ०७६र७७ को ६ महिनामा २१३ लाख ९८ हजार राजस्व संकलन गरेको छ। दुर्घटनाको दोस्रो कारणमा तीव्र गति देखिएको छ। यस्तै, यात्रुको गल्ती, ओभरटेक, यान्त्रिक गडबडी, मदिरापान सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछन्।
चालकहरूले मापदण्डमा रहेर मात्र सवारी चलाउने हो भने पनि आधाजसो दुर्घटना रोक्न सकिने ट्राफिक प्रहरीको भनाइ छ। त्यसका लागि चालकलाई चेतना जगाउनेलगायत विभिन्न काम गरिरहेको ट्राफिक प्रहरीको दाबी छ। ग्रामीण क्षेत्रमा झन् खतरा ग्रामीण भेगमा चल्ने सवारीसाधन र सडकको अवस्था झनै खराब छ। एकातिर कच्ची र अप्ठ्यारो सडक अर्कातिर क्षमताभन्दा बढी भारले गर्दा दुर्घटना जोखिम धेरै नै हुनेगर्छ। ब्रेकफेल, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले पनि विभिन्न दुर्घटना हुने गरेका छन्। समय–समयमा अनिवार्य सवारी परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका सवारीसाधनलाई हटाउने व्यवस्था मिलाउने हो भने दुर्घटना जोखिम केही घट्न सक्छ।
तराईबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङका लागि चल्ने रात्रिकालीन बस एकजना मात्र चालकको भरमा चल्ने गरेका छन्। गत असारमा ओखलढुंगााको मानेभञ्ज्याङमा ठूलो दुर्घटना र मानवीय क्षति भयो। एकैजनाले लगातार १२र१३ घण्टासम्म सवारी चलाउँदा धेरैजसो दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। सडक दुर्घटना मृत्युको चौथो कारण विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपालमा मानिसको मृत्युको चौथो कारणको रुपमा सडक दुर्घटनालाई देखाएको छ। बर्सेनि नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक छ। यस्तै, नेपालमा सवारी दुर्घटनाकै कारण दैनिक औसत ६ जनाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ। अहिले नेपालमा वार्षिक झण्डै १६ लाख सवारीसाधन र चालक विभिन्न कारबाहीमा पर्ने गरेका छन्।
मादक पदार्थ सेवन, ट्राफिक नियम उल्लंघन, तीव्र गति लगायतमा ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ। तर, कारबाही फितलो हुँदा दुर्घटनाको दर नघटेको सरोकारवालाहरू बताउँछन्। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारीधनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकार छ। तर, विभागले पनि तोकिएअनुसार काम गर्न नसकेको गुनासो सुनिन्छ। सरकारले समृद्धिका ठूला ठूला गफ लडाइरहँदा देश विकासको मेरुदण्ड सडक सुधारमा ध्यान पुर्याउन भने नसकेको देखिन्छ। सञ्चालनमा रहेका सम्पूर्ण सडकको वर्गीकरण, मर्मतसम्भार र निर्माण तथा स्तरोन्नति गर्नुपर्ने आवश्यक देखिन्छ।-रासस