रेणुले गरिन् विकासमा कमाल, २ वर्षमा ३०२ किमि सडक भयाे पीच

मूलखबर संवाददाता
काठमाडौं

चितवनकाे भरतपुर महानगरपालिका देशकै उत्कृष्ट महानगर बन्न पुगेको छ । सडक मानव मुक्त पहिलाे मअानगर भएको भरतपुरमा अहिले विकासको हिसावले पनि पहिलाे बन्न सफल भएको छ । महानगर प्रमुखको रूपमा रेणु दाहाल अाएपछि २ वर्षमै ३०२ किमि सडक कालाेपत्रे भइसकेको छ ।

भरतपुर महानगरपालिका भित्रका अधिकांश सडक कालोपत्रे भइरहेका छन् । महानगरपालिका, सांसद विकास कोष, शहरी विकास मन्त्रालय तथा सडक डिभिजन कार्यालयले यी क्षेत्रका सडकलाई वर्गीकरण गरेर बजेट छुट्टाएका छन् ।

महानगरका भित्री तथा महत्वपूर्ण सडक कालोपत्रेको काम तीव्र पारिएको छ । कुनै बेला पिचको कालोपत्रे टेक्न भरतपुरको चौबिसकोठी आउनुपर्ने महानगरको ग्रामिण भेगका बासिन्दा अधिकांशको घर अगाडि नै पिच बाटो पुगेको छ ।

साढे २ वर्षको अवधिमा भरतपुर महानगरपालिकामा ३०९ किलोमिटर सडक कालोपत्रे भइसकेको महानगरपालिकाले जानकारी दिएको छ । शहरी विकास मन्त्रालयबाट ६५ किलोमिटर र बाँकी महानगरको बजेटबाट सडक कालोपत्रे गरिएको मेयर रेनु दाहालले बताइन् ।

केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा खन्याइएको भरतपुर महानगर प्रमुख  दाहालले जानकारी दिएकी छन् । वर्षौंदेखि बिग्रिएर जनताले दुःख पाएको भरतपुर–रामपुर–चनौली–मेघौली सडक धमाधम कालोपत्रे भैरहेको छ ।

मेयर रेनु दाहालको पहलमा भरतपुर–१९ भित्रका मुख्य सडक धमाधम कालोपत्रे भैरहेको कांग्रेस नेता विष्णु ढकालले बताए ।उनले भने, ‘बर्खामा माछा पाल्ने मिल्नजस्तो पोखरी बन्थ्यो, हिउँदमा धुलो भएर हैरान थियौं, १२ वर्षसम्म निकै दुःख पाइयो, बल्ल मुक्तिको सास फेर्ने अवस्था आयो,’ ढकालले भने, ‘गाउँका भित्री सडकहरु पनि धमाधम पिच भैरहेका छन्, खुसी छौं ।’

भरतपुरको चौबिसकोठीबाट गितानगर, पटिहानी, जगतपुर, माडी र ठोरी जाने हुलाकी सडकसमेत कालोपत्रे भएपछि यात्रा गर्न निकै सहज भएको छ । पकौडी बजारदेखि भरतपुरको अन्तिम सीमाविन्दु कसरा पुलसम्म सडक कालोपत्रे यसै वर्ष गरिएको हो । यो सडक बिग्रदा गीतानगर, शिवनगर, पटिहानी, जगतपुर, माडी, ठोरी जाने यात्रुले दुःख पाएका थिए ।

महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरदेखि पकौडी बजारसम्म कालेपत्रे गरिए पनि सडक साँघुरो भएकाले यसलाई तत्काल विस्तार गर्ने योजना रहेको बताइन् । महानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको रिङरोड १०५ किलोमिटरमध्ये १० किलोमिटर सडकखण्ड डीपीआरसँगै निर्माणको काम अघि बढिरहेको छ । रिङरोडलाई जोड्ने १५ वटा लिंक रोडको काम पनि धमाधम अघि बढेको महानगरको भनाइ छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालयमातहत १२ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । पश्चिम चितवनको मंगलपुरबाट दक्षिण हुँदै महेन्द्रचोक, शिवनगर, पार्वतीपुर, शुक्रनगरबाट मेघौली नजिकको तलौली निस्कने झन्डै २१ किलोमिटर लामो सडकको काम अघि बढिरहेको छ ।

यसलाई ‘प्रचण्ड मार्ग’ भनिन्छ । यो सडकलाई तीन खण्डमा बाँडेर प्याकेज १ र २ मा ठेक्का लगाइएको छ । यसलाई पश्चिम चितवनको अर्को रणनीतिक सडकका रुपमा हेरिएको छ । केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा खन्याइएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा थप एक सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ । महानगरका योजना शाखा प्रमुख असिम रेग्मीले महानगरमा स्तरीय ग्राभ्रेल करिब एक सय किलोमिटर गरिएको बताए ।

महानगरपालिकाले सडकलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन खण्डमा बाँडेको छ । सडक अधिकार क्षेत्र ५० मिटरसम्म भएका राजमार्गका सडकलाई ‘ए’, १६ मिटरसम्म भएका सडकलाई ‘बी’ र ६ मिटरदेखि १६ मिटरसम्मका सडकलाई ‘सी’ भनेर वर्गीकरण गरिएको महागरका इन्जिनियर सूर्यप्रकाश लामाले जानकारी दिए ।

महानगरले सडकसँगै कल्भर्ट बनाउने कामलाई पनि प्राथमिकतामा राखेको छ । योजना शाखा प्रमुख रेग्मीले चालु आर्थिक वर्षमा सडक कल्भर्ट २० वटा बनाउने योजना रहेको बताए । गत वर्ष १२ वटा कल्भर्ट बनाइएका थिए । महानगर प्रमुख रेनु दाहालले वर्षौं ट्याक खुलेका तर अहिलेसम्म पनि पिच नभएका सडकहरुलाई कालोपत्रे गर्ने अभियान नै चलाइएको बताइन् । ‘जनताको पनि अपेक्षा यही छ, उहाँहरुको भावना बुझेर नै कालोपत्रे गर्न बढी रकम खर्च गरेका छौं,’ प्रमुख दाहालले भनिन् ‘महानगरले पनि सडक विकासलाई प्राथमिकतामा राखेको छ ।’

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडकलाई ब्यूटिफिकेसनसहित ६ लेन बनाउने प्रकृया अघि बढेको छ । सडक विभागले यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर ठेक्का लगाउने तयारी थालेको छ । सडक विस्तारका लागि बाटो खाली गर्ने काम सुरु भएको छ ।

भरतपुर महानगरपालिकाले पनि ६ लेनको सडक निर्माण भइसकेपछि भरतपुर–नारायणगढको स्वरुप नै बदलिने बताएको छ । यसलाई महानगरपालिकाले महत्वपूर्ण परियोजना भनेको छ । यस्तै, भरतपुर बाइपास सडकलाई सर्भिस लेनसहित चार लेनको बनाइँदै छ । भरतपुर केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको सडकलाई चार लेनको बनाउने गरी सडक विभागले दोस्रो खण्डको ठेक्का निकालेको छ । झण्डै १४ करोडको ठेक्कामा निर्माण कम्पनीले सम्झौता भएको दुई वर्षभित्र सडक तयार गरिसक्नुपर्ने हुन्छ।

गौरीपार्वती निर्माण सेवाले केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्म सडक विस्तार गर्दैछ । आगामी चैतसम्म २.२ किलोमिटर सडक तयार गरिसक्नुपर्ने सम्झौता छ । सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको र पिचमात्रै १४ मिटरको हुनेछ । यी सबै सडकमा आधुनिक सडक बत्ति राख्न विद्युत प्राधिकरणले झण्डै २१ करोड खर्च गर्दै छ ।