रिमालका रमाइला र पेचिला रचना

कृष्णदेव रिमाल
काठमाडौं

जव तिमी आउँछौ नि दिल द्वार खुल्छ
यो मनमा एउटा भिन्दै आकाङ्क्षा झुल्छ
तिमी आउँदा मीठो धून बज्छ छातिमा
त्यही धून पछ्याएर करोडौँ फूल फुल्छ ।

###

मन यहीँ बस्छ भने देह घुमेर के
मुटुमा प्यार छैन वदन चुमेर के
क्यान्सर जस्तै छ यो मायाको संसार
भोगिएको अर्कै देखिएको गुमेर के ।

####

उसको मनमा सुटुक्क उनी बसिन् रे
हेर्दाहेर्दै अनायास मायाले कसिन् रे
आशामा बाँच्नेहरू त हजारौँ थिए नि
बाँकिका चैं नयनबाटै तप्प झरिन् रे ।

###

निद नलाग्दा यो रात भयङ्कर हुन्छ
दशा लाग्दा प्रीय वात भयङ्कर हुन्छ
अविश्वास जन्मियो आफ्नै मनमा भने
आफन्तकै पनि साथ भयङ्कर हुन्छ ।

###

घाम छोप्छ र धर्तीमा वादल रजाइँ गर्छ
जाडोले नि किन गरीबकै बदख्वाइँ गर्छ
महलबाट त न्यानो महक पोखियो उता
सडकपेटीमा बच्चो पो क्वाइँ क्वाइँ गर्छ

###

बजाई रहेछु युगौँदेखि बाजा
जगाई रहेछु बनाएर साझा ।
अझै देश आज हराएसरि भो
कतै काग मात्र कराएसरि भो ।।

###

थर्थरी काँप्दैछ मण्डला कथा नसोध
धर्धरी रुँदैछ्न् किसान ब्यथा नसोध
पसिनाको मोल लिन धर्ना बस्नुपर्छ
यो हो कि त्यो लुटेराको भदा नसोध ।

###

सलाम छ हे नेपाल आमा तिमीलाई
धरा सुत आएको छ पुज्न जिमीलाई ।

जति माथि चढे पनि तिमी अझ माथि
धरणीको ख्याल गरौँ मिलिजुली साथी ।।