फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा क्षति पुर्याएको, विद्युत् सेवा अवरुद्ध भएको र केही स्थानमा एक मिटर उचाइसम्मका सुनामीका छालहरू मापन गरिएको अधिकारीहरूले बताएका छन् ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गर्नुभएको छ । उहाँले सुनामी चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानिसको जीवनभन्दा महत्त्वपूर्ण अरू केही नभएको बताउनुभयो । साथै, राष्ट्रिय सरकार र विपद् व्यवस्थापन निकायहरू पूर्ण रूपमा परिचालित अवस्थामा रहेको जानकारी दिनुभयो ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प बिहान ७ः३७ बजे जनरल सान्टोस सहरको दक्षिणपश्चिम समुद्री क्षेत्रमा केन्द्रित भएर आएको थियो । करिब सात लाख जनसङ्ख्या रहेको यो सहर दक्षिणी फिलिपिन्सको प्रमुख व्यापारिक तथा टुना प्रशोधन केन्द्र मानिन्छ । भूकम्पको केन्द्र कोटाबाटो समुद्री गर्त क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
अधिकारीहरूका अनुसार हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन । यद्यपि जनरल सान्टोसमा एउटा सानो व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । उक्त भवनमा मानिस फसेका वा घाइते भएका छन् कि छैनन् भन्ने विषयमा अझै स्पष्ट जानकारी प्राप्त भएको छैन । स्थानीय रेडियो संस्था डिजेडआरएचले आफ्नो शाखा रहेको भवनको केही भाग ढलेको तर कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ ।
भूकम्पका कारण अन्य भवनहरूबाट पनि संरचनात्मक सामग्री खसेका छन् । सडक किनारमा पार्क गरिएका तीनपाङ्ग्रे ट्याक्सीहरूमा भग्नावशेष खसेको विवरण प्राप्त भएको छ । कार्यालय समय सुरु हुनुअघि भूकम्प आएकाले ठूलो मानवीय क्षति टरेको अनुमान गरिएको छ ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा तीन मिटर उचाइसम्मका छालहरू आउन सक्ने चेतावनी दिएको थियो । त्यसैगरी मलेसिया र इन्डोनेसियाका केही तटीय क्षेत्रमा एक मिटर उचाइसम्मका सुनामी छालको जोखिम रहेको बताइएको थियो । फिलिपिन्सका साराङ्गानी र सुल्तान कुदारात क्षेत्रमा राखिएका सुनामी निगरानी केन्द्रहरूले एक मिटर उचाइका छालहरू अभिलेख गरेका छन् भने अन्य केही स्थानमा साना छालहरू देखिएका छन् ।
भूकम्पपछि मलेसियाको मौसम विभागले बोर्नियो टापुको सबाह राज्यका लागि सुनामी चेतावनी जारी गरेको थियो । सबाह क्षेत्र दक्षिणी फिलिपिन्ससँग समुद्री मार्गबाट नजिक मानिन्छ । इन्डोनेसियाको सुलावेसी टापुमा ८३ सेन्टिमिटर उचाइको सुनामी छाल मापन गरिएको अधिकारीहरूले बताएका छन् ।




