रास्वपा सभापति लामिछानेले डाके आज सर्वदलीय बैठक

मूलखबर संवाददाता
काठमाडौं, २५ जेठ

संसद्मा सत्तापक्ष–प्रतिपक्षबिच टकराव र सांसदहरूबिच पनि छेडखानी तथा आरोप–प्रत्यारोप चलिरहेका वेला सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ ।

सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधका बिच रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका हुन् ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक आह्वान गरेको बताए ।

बैठक सिंहदरबारस्थित संसद्को सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बोलाइएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष–सभापतिसहित दुईजनालाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

संसदमा प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतकाे धेरै ठाउँमा सिमा मिचेकाे भनेर विवादित अभिव्यक्ति दिएपछि साे विषयमा सत्तापक्ष र विपक्षी  दलहरूबीत टकराव बढिरहेकै बेला लामिछानेले याे बैठक आयोजना गरेका हुन् ।

जेठ १८ देखि संसद बैठक स्थगित छ र आजको लागि बैठक आव्हान पनि गरिएको छ । बैठकअगावै प्रतिपक्षसँग बढेको दूरी कम गरी संसद् बैठक सुचारु गर्ने काममा सहजीकरण गर्ने उद्देश्यले लामिछानेले बैठक बोलाएका हुन् । त्यसक्रममा उनले आफ्नो भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारीसमेत दिने उद्देश्य रहेको छ ।