उखु किसान आन्दोलीत, माइतिघरमा धर्ना : करिब ७० करोड बढी भूक्तानी बाँकी
सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।
चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाई छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन् । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् । भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन् ।
किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मिलहरुले अहिले आफुखुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५३६÷५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरुको छ ।
संयोग के भने, उनीहरूमध्ये अधिकतरको जीवनमा राजधानीको यो यात्रा पहिलो नै हुन गएको छ । ‘हामीले धेरै पटक सीडीओलाई भन्यौं, एसपीकामा गएर हात जोड्यौं,’ सर्लाहीका अर्का उखु किसान ४३ वर्षीय मायाशंकर यादवले भने, ‘केही सीप नलागेपछि उसैको घर घेर्न भनेर गाउँबाट हिँड्यौं ।’
यादवले अग्रवालबाट २५ लाख लिन बाँकी छ । कतिपय किसानको त ६० लाखसम्म पनि उठाउनुपर्ने छ । ‘सबै गरेर २५ हजार किसानको ५० करोडजति पैसा उठाउन बाँकी छ,’ उखु किसान संघर्ष समितिका सचिव ३६ वर्षीय हरिश्याम रायले भने, ‘अब पैसा नलिई हामी फर्किन्नौं ।’
सर्लाही र रौतहटका किसान खल्तीमा दुई/तीन हजार बोकेर गत साता काठमाडौं जाने बसमा चढेका थिए सर्लाहीबाट । उनीहरू कोही सडकपेटीमा सुतिरहेका छन्, कोही लजमा त कोही आफन्त र गाउँलेको झुपडपट्टीमा । दिनभरि माइतीघरमा रुँगेर बस्ने अनि साँझ परेपछि तितरबितर भई रात बिताउने उनीहरूको न खानको ठेगान छ न बासको । महतोलाई शनिबार मैले सोधें, ‘कस्तो लाग्यो त राजधानी ?’
‘जाडो लाग्यो हजुर !’ पातलो न पातलो धोती–कुर्ता अनि एउटा पातलै मजेत्रोमा पारिलो घाममा पनि चिसोले कक्रिएका उनले भने, ‘काठमाडौं साह्रै जाडो लाग्यो ।’ यो जाडोमा उनको पेटमा भने आगो बल्न थालेको छ । ‘हामी सबैको ल्याएको पैसा सकियो, अब खाने उपाय केही छैन,’ उनी भन्छन्, ‘जाडोले भन्दा भोकैले पहिला मार्लाजस्तो छ ।’
उनीहरूले काठमाडौं आएर चार दिन धुइँपत्ताल खोजेपछि राकेश अग्रवालको घर पत्ता लगाए । ‘उसको घर त्रिपुरेश्वरमा रहेछ,’ यादवले सुनाए, ‘त्यहाँ हामी पुग्दा अग्रवालचाहिँ भागिसकेका थिए ।’उनले अग्रवाललाई हजार पटक फोन गरे होलान् तर एक पटक पनि उठेन ।
‘मान्छे नेपालमै छ, फोन जान्छ, प्रहरीलाई हामीले धेरै पटक हात जोड्यौं,’ संघर्ष समितिका सचिव रायले भने, ‘तर हाम्रो सुनुवाइ भएन ।’ अग्रवालको घरको पाँचौं तलामा निजी कार्यालय छ, जहाँ पुगेर किसानहरू धर्ना बसे । ‘त्यसपछि भने प्रहरी आयो तर उसलाई पक्रन होइन, हामीलाई धपाउन,’ उनले भने, ‘प्रहरीले हाम्रो दुःख हेर्ला भनेको त उसैलाई पो जोगाउन खोज्छ बा !’
प्रहरीले बाहिर निक्लन भने पनि उखु किसानले एक भएर अग्रवालको दैलाअघिल्तिर धर्ना कसिरहे । ‘हामीलाई पक्रेर लैजानुस्, गोली हान्नु छ हान्नुस् तर हामी यसको कामकाज ठप्प पारेरै छाड्छौं,’ उनीहरूले प्रहरीलाई भने र अन्तमा अग्रवालको कार्यालयमा ताल्चा लगाइदिए ।
त्यसयता दुई दिनदेखि उनीहरू माइतीघरमा धर्ना बसिरहेका छन् । उनीहरू सबको खेतमा काट्ने बेला भएको उखु छ । फर्केर त्यो काट्ने कि पहिलेको उखुको बक्यौता लिएर जाने भन्ने प्रश्नले दिनभरिजसो उनीहरूलाई पिरोलिरहन्छ ।
शनिबार दिउँसो उनीहरू धर्नामा बसिरहेका बेला प्रहरीको चिल्लो नीलो जिप अघिल्तिर आएर रोक्कियो । ‘अहो एसएसपी साहेब !’ यादव र महतोहरूले आफन्त भेटेझैं गाडीभित्रका एक अधिकारीलाई जदौ गरे, ‘हेर्नॅहोस् न, हाम्ले त अहिलेसम्म पैसा पाएका छैनौं ।’
उनी रहेछन् काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी । उनले गाउँबाट को को आएका छन् भनी केहीबेर भलाकुसारी गरे र गाडीमा हुइँकिहाले ।
तीन वर्षअघि सर्लाहीमा उनी एसपी हुँदा किसानहरू अग्रवालविरुद्ध उजुरी गर्न गएका रहेछन् । सुवेदी र सर्लाहीका तत्कालीन सीडीओ प्रदीपराज कँडेलले अग्रवालको गोदाममा भएको चिनी बेच्न लगाएर किसानलाई केही पैसा दिलाएका रहेछन् । ‘यो समस्या वर्षौंदेखिको हो, त्यतिखेर मैले केही पहल गरेर पैसा तिराउन लगाएको थिएँ । फेरि किसानलाई दिइएनछ,’ सुवेदीले साँझ कान्तिपुरसँग भने, ‘उतिखेर जिल्लामा हुँदा आफूले सम्हालेको मामिला हुनाले आज भेट्न गएको हुँ ।’
उनका अनुसार उधारोमा उखु लिने र पछिसम्म किसानलाई पैसा नतिर्ने व्यापारीहरूको पुरानै बानी हो । अन्य मिलमा यो समस्या भए पनि अग्रवालको स्वामित्वमा रहेको अन्नपूर्ण सुगर मिलमा भने पैसा नतिर्ने प्रवृत्ति चर्को छ । ‘अलि टाढाबाठालाई तिर्ने र सोझासाझालाई नतिर्ने गर्छन् व्यापारी,’ उनले भने, ‘त्यसमाथि व्यापारी र किसानको देखभेट कहिल्यै हुँदैन । बीचमा दलालहरू भन्छन्, तिनैले हो धेरै गडबडी गर्ने त ।’
सर्लाहीको हजारौं बिघा जमिनमा लगाइएका उखु उधारोमा किनेर चिनी बनाई बेच्ने र त्यसबाट आएको पैसा अन्यत्र व्यापारमा लगानी गर्ने अग्रवालको बानीले किसानहरू मर्कामा परेको सुवेदीको बुझाइ छ ।
‘यो सल्ट्याउनै नसकिने केस होइन,’ उनले भने, ‘स्थानीय सरकार, राजनीतिज्ञ र समाजका अगुवाले पहल गरे किसानले पैसा पाउँछन् ।’