नेकपालाई ३१ स्थान र कांग्रेसलाई १३ स्थानमा जित, अरुमा को को ? यस्तो छ दलका निश्कर्ष

मूलखबर संवाददाता
काठमाडौं, १७ मंसिर ।

विभिन्न कारणबाट निर्वाचित स्थान रिक्त भएपछि मंसिर १५ गते ५२ स्थानको लागि भएको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाले ३१ स्थानमा जित हासिल गरेको छ भने प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्न सफल भएको छ । सत्ताबाट विमुख हुँदा पनि प्राप्त जित प्रति प्रतिपक्षी दल कांग्रेसले खुशी मनाएको छ भने सत्तासहितको प्रमूख दल नेकपाले गम्भीर समिक्षा गर्नुपर्ने निश्कर्ष निकालेको छ ।
विशेष गरी भक्तपुरको प्रदेश सभा, धरान उपमहानगरपालिकाको मेयर र चितवनका तीन स्थानमा पराजय भोगेको नेकपाले गम्भीर समिक्षा गर्ने निश्कर्ष निकालेको हो । भने प्रतिपक्षी दल कांग्रेसले आफ्नो पक्षमा जनमत विकास हुँदै गएको र सुदृढ हुँदै गएको निश्कर्ष निकालेको हो ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तो परिणाम उपनिर्वाचनमा पनि आएको छ । शनिबार भएको निर्वाचनमा केही स्थान हेरफेर भए पनि समग्रमा मुख्य राजनीतिक दल नेकपा र कांग्रेसको मत र परिणाम करिब उस्तै आएको छ ।

५२ स्थानमध्ये सत्तारूढ दल नेकपा नेतृत्वको वाम गठबन्धनले ३१ स्थानमा जित हात पारेको छ। कांग्रेसले १३, समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३ र स्वतन्त्रले १ स्थानमा जितेका छन्। संसद्मा रहेका चार राष्ट्रिय पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै उपनिर्वाचनमा आफ्नो अस्तित्व देखाउन सकेका छन्। चुनावी चर्चामा विवेकशील, साझा, राप्रपा, नेमकिपालगायतका दल रहे पनि उनीहरूले जित निकाल्न सकेनन्। न्यून मतमै उनीहरूले चित्त बुझाउनुपरेको छ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका रिक्त ४८ स्थानका लागि उपचुनाव भएको थियो। नेकपाले केही स्थानमा आफ्नो पकड गुमाएको छ भने केही स्थान थपेको छ। यसअघि नेकपाले जितेको प्रदेशसभाको भक्तपुर १ (क) र धरान उपमहानगरपालिकाको प्रमुख पद उसले गुमाएको छ।

प्रतिनिधिसभाको कास्की–२ र दाङ ३(ख) मा नेकपाका विद्या भट्टराई र विमलाकुमारी खत्री विजयी भएका छन्। उक्त दुवै क्षेत्रबाट यसअघि पनि नेकपाकै उम्मेदवारले जितेका थिए। प्रदेशसभाकै बागलुङ २(ख) बाट नेकपाले समर्थन गरेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले जितेका छन्। यसअघि पनि उक्त क्षेत्रमा जनमोर्चाले नै जितेको थियो।

स्थानीय तहमा यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पद नेकपाले जितेको छ। त्यहाँ नेकपा उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पद पनि नेकपाको हातमा आएको छ। मकालुबाट तेजबहादुर पोखरेल र पिपराबाट विक्रम चौधरी विजयी भएका छन्। यसअघि मकालुमा नेकपाले जितेको थियो भने पिपरा गाउँपालिका नेकपालाई थपिएको हो। पिपरामा यसअघि राजपाले जितेको थियो। उपनिर्वाचन भएको ४३ वडामध्ये २४ वडामा नेकपाले जितेको छ।

प्रतिपक्षी कांग्रेसका लागि प्रदेशसभाको भक्तपुर १९क० निर्वाचन क्षेत्र र धरान उपमहानगरको प्रमुख जित्नु मुख्य सफलता बन्न पुगेको छ। ती दुवै स्थान यसअघि नेकपाले जितेको थियो। तर कांग्रेसले पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद गुमाएको छ।

प्रदेशसभाको भक्तपुर १(क) बाट कृष्णलाल भडेल र धरानको प्रमुखमा तिलक राई विजयी भएका छन्। वडातर्फ ११ वडाध्यक्ष पद कांग्रेसले हात पारेको छ। समाजवादी पार्टीले प्रदेश २ का विभिन्न स्थानीय तहका चारवटा वडामा जित हासिल गरेको छ। उक्त प्रदेशमा ८ वटा वडामा चुनाव भएको थियो।

राजपाले यसअघि जितेको महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पद गुमाएको छ। उसले ४३ मध्ये ३ वटा वडा मात्रै जितेको छ। प्रदेश २ को दुई र प्रदेश ५ को एक गरी तीनवटा वडा राजपाले जितेको हो।

साना पार्टी चर्चा बढी, मत अत्यन्त कम

उपनिर्वाचनमा साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राप्रपा (संयुक्त), मजदुर किसान पार्टीलगायतका दल चर्चामा रहे पनि तिनले मत बटुल्न सकेनन्।

प्रतिनिधिसभाको कास्की–२ मा साझा पार्टीले धेरै परिश्रम गरे पनि उक्त पार्टीकी उम्मेदवार रजनी केसी ९४२ मतमा सीमित हुन पुगेकी छन्। राप्रपाका रोमबहादुर भण्डारीले १,१५३, मंगोल नेसनल अर्गनाइजेसनका रियाज गुरुङले १३८ र विवेकशीलबाट स्वतन्त्र चिह्न लिएर चुनाव लडेकी जमुना शर्माले ७७ मत पाए। समाजवादी पार्टीका धर्मराज गुरुङले १,९२२ मत ल्याए।

प्रदेशसभाको दाङ ३(ख) मा साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगीले १५४, राप्रपा (संयुक्त) का छोटीलाल थारूले १३८, नेकपा (माले)का हरिप्रसाद डाँगीले १०३, मंगोल नेसनल अर्गनाइजेसनका घनश्याम चौधरीले ९०, नेमकिपाका सुरेश परियारले १५ र राजमोका धनराज विश्वकर्माले ११ मत ल्याए।

प्रदेशसभा बागलुङ २(ख) मा समाजवादी पार्टीका अशोककुमार विकले ३१६, मंगोल नेसनल अर्गनाइजेसनका मित्रबहादुर मगरले ४५, राप्रपाका गणेशबहादुर कुँवरले ३७, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३६ मत ल्याए।

प्रदेशसभा भक्तपुर १९क० मा तेस्रो स्थान ल्याएका नेमकिपा उम्मेदवार नीरज लवजूले दोस्रो भएको नेकपाबाट ५ हजारको अन्तरमा मत ल्याए। उनले ल्याएको कुल मत ५ हजार ८ सय २९ हो। त्यहाँ राप्रपाका श्यामप्रसाद नेपालले ५७४, साझा पार्टीका सुरज प्रधानले ३९३, समाजवादी पार्टीका सदुर्शनकुमार मुनकर्मीले ३२ मत ल्याए।

मूलधारको राजनीतिमा आएको सीके राउत नेतृत्वको जनमत पार्टीको पनि कुनै प्रभाव देखिएन। तराई क्षेत्रका अघिकांश स्थानमा राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दिएको थियो। राउतकै जिल्ला सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा ११ मत मात्र आयो। त्यस्तै महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा राउतको पार्टीका उम्मेदवारले ६१६ मत ल्याएका छन्।