उप निर्वाचनकाे परिणाम आउने क्रम जारी : अधिकांंश स्थानमा नेकपा विजयी(कहाँ काे ?)

मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर

विभिन्न कारणले रिक्त बनेका केन्द्र, प्रदेश र स्थानीय तहका वडाहरूमा मंसिर १४ मा भएकाे निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म रोल्पाको थबाङ-१, सल्यानको कुमाख-५, संखुवासभाको खाँदबारी-३, भोजपुरको पौवादुङमा गाउँपालिका–१, कञ्चनपुरको पुनर्वास-३, लमजुङको सुन्दरबजार-२ र काठमाडौंको दक्षिणकाली-३ मा नेकपाका उम्मेदवार वडाध्यक्षमा निर्वाचित बनेका छन् ।

गुल्मीको रुरु नगरपालिका-६,डोटीको आदर्श गाउँपालिका-२, सिन्धुपाल्चोकको इन्द्रावती-८, पूर्वी नवलपरासीको बुंदीकाली-५, बागलुङको बडिगाड-२,काभ्रेको धुलिखेल-२ र खोटाङको साकेला-३ मा नेकपाका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै पर्साको सखुवापसौँनी-५ र सर्लाही हरिपूर्वा-१ मा भने समाजवादी पार्टीका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । बैतडीको सुर्नया-३ मा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

कास्की २ प्रतिनिधि सभा र भक्तपुर, बागलुङ, दाङ लगायतका प्रदेश सभा सदस्यकाे मत परिणाम अाउन समय लाग्ने भएपनि अन्य स्थानकाे भने छिट्टै आउने देखिन्छ ।

कहाँ कहाँ कांग्रेस विजयी ?

चितवनको भरतपुर महानगरपालिका १६ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन । हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतको अन्तरले जितेका छन ।

अमृतले ३१८३ र नेकपाका उम्मेदवार भक्तराज हमालले ल्याए २८७५ मत ल्याएका छन । नेकपाको पकडको क्षेत्रमा काङ्ग्रेस बिजयी भएको हो ।
चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्‍वार विजयी भएका हुन्। खैरहनी ५ को वडाअध्यक्षमा प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् ।

त्यस्तै खैरहनी ५ मा बेद बहादुर अधिकारी विजयी भएका हुन् । वडा नम्बर ५ मा कार्कीले नेकपाका उम्मेद्‍वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

रौतहटको गढीमाई नगरपालिका(२ मा कांग्रेसका उम्मेद्‍वार दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । १७५ मतले श्रेष्ठ विजयी भएका हुन् । उनले ७७१ मत पाउदा नेकपाका जवार मियाले ५९६ मत पाए । त्यसैगरी समाजवादीले १२२ राजपाले १६ र जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्‍वारले ४ मत पाएका छन् । बदर २८ रहेको छ ।

गढीमाई २ मा रहेको समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको क र ख केन्द्र तथा श्री प्रावि हथिऔल केन्द्रमा मतदान भएको थियो ।उक्त वडामा १८ सय २२ मतदाता रहेको मा १५ सय ४४ मत खसेको हो ।

दाङमा घोराही उपमहानगरपालिका १६ को वडाअध्यक्षमा नेपाली कांग्रेस ताराबहादुर डिसी विजयी भएका छन् । उनले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका हुन्

अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर  विजयी हुनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ भोट बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभयो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए । राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गर्नु भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुरेन्द्रप्रसाद भट्टले ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।  प्रतिष्पर्धी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत ल्याका छन् ।

बाजुरामा नेकपा विजयी

बाजुराको त्रिवेणी नगरपालिका(१ मा नेकपाका उम्मेद्‍वारले जित हात पारेका छन्।नेकपाका मनराजे बुढा ३६७ मत पाएर वडा अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत पाए ।

बाँकेमा नेकपा विजयी

बाँकेको कोहलपुर नगरपालिका(६ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का रामशरण थारू विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार श्रीकृण थारूलाई पराजित गरेका हुन् ।
रामशरणले ८०० र श्रीकृष्णले ७३७ मत ल्याएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

काभ्रेमा नेकपा विजयी

धुलिखेल नगरपालिका(२ को उपनिर्वाचनमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन्। उनले कुल खसेको मत १५ सय २ मा ८ सय ६७ मत प्राप्त गरेर विजयी भएका हुन्। नेपाली कांग्रेसका दर्णबहादुर खत्रीले ५ सय ८२ मत प्राप्त गरे भने राप्रपा संयुक्तबाट बासुदेव थापाले ६ र राजपा नेपालबाट कृष्णबहादुर तामाङले १५ मत प्राप्त गरेका छन्।

सिरहामा नेकपा विजयी

सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव विजयी हुनुभएको छ ।

जम्मा ३ हजार ४ सय ५० मतदाता रहेको यो ठाउँमा २ हजार ४ सय ८१ मत खसेको थियो । नेकपाका दिलिपकुमार यादवले ८ सय २५ मत प्राप्त गरी विजयी हुनुभएको हो । राजपा नेपालका उम्मेदवार प्रदिप महतोले ६ सय ५४ मत र नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गर्नुभएको थियो ।

प्युठानमा नेकपा विजयी

प्युठान नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याउनुभयो ।

नवलपरासीमा नेकपा विजयी

नवलपरासी पूर्व नवलपुरको  बौँदीकाली गाउँपालिका वडा नम्बर  ५ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।  नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ३६७   मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २११ मत, समाजवादी पार्टीका उम्मेदवार प्रितमबहादुर रानाले ७ मत प्राप्त गर्नुभएको छ ।

खोटाङमा नेकपा विजयी

खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेद्वार शिवकला राई विजयी हुनुभएको छ ।  कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई पछि पार्दै नेकपाका उम्मेदवार शिवकला वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समाजवादीका रमेश राईले १५ मत र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताउनुभयो ।१७ मत बदर भएको छ ।

भोजपुरमा नेकपा विजयी

भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जितेन्द्र राई विजयी हुनु भएको छ ।  राई ६९१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर कार्की २५४ मत प्राप्त गर्नुभयो । मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले ३ मत प्राप्त गर्नुभयो ।

कुल मतदाता एक हजार ६१६ मध्ये ५९ दशमलव ७२ अर्थात नौ सय ६५ मत खसेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । १६ मत भने बदर भएको छ ।

कपिलवस्तुमा राजपा विजयी

शिवराज नगरपालिका १० लालपुरमा भएको उपचुनावमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याई उहाँ विजयी हुनुभएको हो । नेपाली कांग्रेसका देव भारती ले ४ सय ६५ र नेकपाका अदालत मनिहारले १ सय ४७ मत ल्याउनुभएको छ ।

गुल्मीमा नेकपा विजयी

रुरु क्षेत्र गाउँपालिका–६ मा वडाअध्यक्ष पदका लागि सम्पन्न उपचुनावमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उमेदवार गिरीप्रसाद सिञ्जाली विजयी हुनुभएको छ । सिञ्जालीले नेपाली कांग्रेसका उम्मेदवार वेदप्रसाद दर्लामीलाई पराजित गर्नु भएको हो ।

नेकपाको तर्फबाट विजयी बन्नु भएका उमेदवार सिञ्जालीले ८ सय २ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दर्लामीले ७ सय २७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत राजेन्द्र पोखरेलले बताउनु भयो ।

त्यस्तै, स्वतन्त्र उमेदवार मनबहादुर दर्लामीले १ मत प्राप्त गर्नु भएको थियो ।  कुल २ हजार ४८ मतदाता रहेको यो ठाउँमा शनिबार सम्पन्न उपचुनावमा १ हजार ५ सय ४४ मत खसेको  थियो । खसेको मत मध्ये १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुरु क्षेत्र गाउँपालिका ६ मा ०७४ को पालिका चुनावमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पूर्णबहादुर रेगामीको निधन भएपछि उपचुनाव गरिएको हो ।

पाँचथरमा मिश्रीत

फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार सुबराज थापाले ९ सय ७२ मत पाउनुभयो ।

भट्टराई ४ सय ७४ मत अन्तरले विजयी हुनुभएको हो । यो वडामा नेपाली कांग्रेसबाट निर्वाचित हर्कबहादुर मोत्तानको निधनपछि उपचुनाव भएको हो ।

यसअघिको चुनावमा कांग्रेसले जितेको फिदिम–१ मा नेकपाका उम्मेदवार विजयी हुँदा नेकपाले हिलिहाङ–७ भने गुमाएको छ । हिलिहाङ गाउँपालिका–७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी हुनु भएको छ । इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले पराजित गर्नुभएको हो ।

कूल २ हजार ६ सय मतदाता रहेको वडामा शनिबार भएको उपचुनावमा हजार ६ सय ९३ मत खसेको थियो । यो वडामा तत्कालीन नेकपा एमालेकोतर्फबाट निर्वाचित वडाध्यक्ष तिर्थ तिमल्सिनाको निधनपछि उपचुनाव भएको हो ।