मालपाेतका सुब्बाले गरे १४ कराेड ८५ लाख भ्रष्टाचार , अख्तियारले गर्याे मुद्वा दायर

मूलखबर संवाददाता
काठमाडौं

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना नायव सुब्बा विरुद्ध १४ करोड ८१ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय सिमराका मदनप्रसाद गुप्तामाथि १४ करोड ८१ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गुप्ताले आफूले कमाएको सम्पत्ति श्रीमती रिता देवी, छोराहरु विक्कि गुप्ता र रकि गुप्ताको नाममा लुकाएको आरोपमा उनीहरुमाथि पनि मुद्दा चलाएको छ । अनि कविता कुमारी, निरज कुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी बनाएको छ ।

२०४७ साल असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार बनेका गुप्ता २०६४ सालमा नासुमा बढुवा भएका थिए । पछिल्लो समय उनी मालपोत कार्यालय सिमराको निमित्त प्रमुख समेत भए । कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेका उनले तलब र अन्य वैध आयबाट ४ करोड ५४ लाख रुपैयाँ मात्रै आर्जन गरेको अख्तियारको दाबी छ ।