हेवा खाेलाकाे बेलिब्रिज खस्दा घाइते ३ मजदुरकाे मृत्यु, ३ घाइतेको उपचार जारी

मूलखबर संवाददाता
काठमाडौं, १ असार

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन जना मजदुरको ज्यान गएको छ।

प्रहरीका अनुसार शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएको हो।

दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। सोही अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए।

पुल खसेलगत्तै एक जनाको ज्यान गएको भनिए पनि चिकित्सक र प्रहरीले उक्त घटनाको पुष्टि गरेका थिएनन्।शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो ।

फिदिम नगरपालिका-४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका-७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो। बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए ।