कांग्रेसका नाममा ३ कुरा, कम्युनिस्टका नाममा २ कुरा
३.१. लिम्पियाधुरादेखि कालापानीसम्मको हाम्रो भूमि (३७ हजार हेक्टर) आफूतिर पारेर भारतले राजनीतिक नक्शा सार्वजनिक गर्यो, जसको नेपालमा निकै ठलो विरोध र प्रतिरोध भइरहेको छ । उक्त नक्शा नेकपाको तर्फबाट प्रधानमन्त्री बनेका ओलीकै स्वीकृतिपछि भारतले सार्वजनिक गरेको भन्ने देउवाको अभिव्यक्ति गैरजिम्मेवार त छँदैछ सँगै निन्दनीय पनि ।
आफू चारचार पटक यो मुलुकको प्रधानमन्त्री हुँदा मिचिएको हाम्रो भूमि फिर्ता ल्याउन एक वाक्य पनि खर्च नगर्ने, आफूले गरेर देखाउने मौका पाउँदा सिन्को समेत नभाँच्ने तर अरुकाबारे पूरै भर्जी कुरा गर्दै हिंड्ने व्यक्तिले चलाएको पार्टी र सरकार कस्तो भयो/हुँदैछ होला ? सबै जनता र मुख्यतः कांग्रेसजनले कुरो बुझ्ने कहिले हो ? देउवा कम्तिमा यति त बोल्, ‘मेरो पालामा बोल्न समेत सकिन, कम्तिमा ओलीले बोलेका त छन् है !’
३.२. कांग्रेसका नेता रामहरि खतिवडा पाँचथरमा बोल्दै थिए, ‘कम्यनिस्टहरु राष्ट्रघाती हुन् किनभने यिनीहरुले माक्र्सवादी, लेनिनवादी र माओवादी जस्ता विदेशी नाम राखेका छन् ।’ कांग्रेसका नेताहरुले सामाजिक विज्ञानको सिद्धान्त भन्ने जिनिस पढ्दैनन् कि क्या हो ? गैरकांग्रेसीहरुले नेपाली कांग्रेसको स्थापना भारतमा भएकोले यो भारतीय जाती हो भनेभने के उत्तर देलान् कांग्रेसजनहरुले ?
राष्ट्रघातकै कुरा गर्ने हो भने नेपालको जल सम्पदा छिमेकीलाई सुम्पने कामको नेतृत्व कांग्रेस नेतृत्वको सरकारको पालामा भएको सत्य कति लुकाउने ? कोशी सम्झौता (वि.सं. २०११) मात्रिका कोइरालाको पालामा भयो भने गण्डक सम्झौता (वि.सं. २०१६) विपीको पालामा र महाकाली पूरै भारतलाई सुम्पने कामको नेतृत्व स्वयम् शेरबहादुरको पाला (वि.सं. २०५२ मा, स्वयम् देउवाले हस्ताक्षर गरेका) मा भएको होइन र ? यद्यपि महाकाली सन्धिमा कम्युनिस्ट (एमाले) ले पनि गल्ती गरेको सत्य अर्को पाटो हो नै ।
३.३. आजभोलि कास्कीको चुनाव प्रचार (दाङमा के छ कुन्नी ?) मा सबै कांग्रेसीहरुले धर्म, काजक्रिया र परम्परा जस्ता नितान्त रुढीग्रस्त विषष उठाएर कम्युनिस्ट र कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधि भनेकी विद्या भट्टराईमाथि आक्रमण गरेको देखिन्छ । आजको युगमा यस्ता विषय सुन्दा कांग्रेसमा ज्ञान भएका, विपी पढेका र बस्तुनिष्ट अभिव्यक्ति गर्ने कोही पात्र नभएकै हो त ? जस्तो लाग्छ नै । भौतिकवादी दर्शन मान्ने कम्युनिस्ट मात्र होइनन् कि गैरकम्युनिस्टले समेत अप्रमाणित, अलौगिक र गलत परम्पराको विरोधमा उभिन्छन् ।
आफ्नो जीवनमा त्यस्ता गलत परम्पराको प्रगोग गर्दैनन् तर धर्म मान्ने सबै समुदायप्रति पूर्वाग्रह राख्दैनन् तर जनतामा सही वस्तु एवं दृष्टिकोण यो हो भनेर जागरण पैदा गर्ने कामको अगवाइ गर्छन् । । विद्या मात्र होइन, हरेक कम्यनिस्ट सदस्यले गर्ने नै यही हो । विज्ञानमा विश्वास गर्ने हो भने सबै कांग्रेसजनले पनि यसै गर्न पर्ने होइन र ?
२.१. कुनै व्यक्तिले संस्थाको प्रतिनिधित्व गरेर बोल्यो वा लेख्यो अथवा गतिविधि गर्यो भने त्यो विषय वा गतिविधि व्यक्तिमा मात्र सीमित हुँदैन । त्यस्ता अभिव्यक्ति संस्थाकै धारणा र काम हो भनेर आम रुपमा बुझिन्छ । त्यसकारण भनिन्छ, संस्थाको तर्फबाट बोल्ने वा लेख्ने पात्रले विशेष ध्यान पुर्याउनु पर्छ । हाम्रोमा यस्तो संस्कारको विकास हुँदैभएन । जसले जे मन लाग्यो त्यही बोल्दै हिंड्ने, सही र गलत छट्याउन नसक्ने कार्यकर्ताहरुले ताली पनि हानिहाल्ने र सर्वसाधारणलाई भ्रमित बनाउने हाम्रो राजनीतिको समस्या जताततै मौलाउँदो छ । यो समस्या सबै राजनीतिक पार्टीभित्र देखिन्छ तर यस प्रवृत्तिको खास प्रतिनिधित्व आजभोलि नेपाली कांग्रेसले गरेको प्रष्ट छ । यस्तो गलत तरिका कम्युनिस्ट पार्टीले प्रयोग गर्न भएन ।
२.२. आफ्नो विचार, सिद्धान्त, नीति, कार्यक्रम र परिणाम दिएर साथै आफ्ना नेता—कार्यकर्ताको आचरण, नैतिकता र दैनिकी सपारेर जनतालाई आकर्षित गर्ने राजनीति हामीलाई चाहिएको हो न कि आचरण, नैतिकता र दैनिकीमा गएगुज्रेका र आफ्नो नीति, कार्यक्रम र परिणामबारे एक वाक्य नबोल्ने तर अर्कोलाई वेतुकका गाली गरेर समय, समाज र संस्कृतिलाई नै विकृत बनाउने कामको अन्त्य आज हामीलाई चाहिएको छ ।
यो मामिलामा कांग्रेसबाट कुनै अपेक्षा गर्न नसकिएता पनि कम्युनिस्टहरुले यस्तो गलत बाटो र तरिका छोडेर मात्र सही बन्ने निरन्तर प्रयत्न गर्ने हो कि ?