
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने -गुण र दोषका आधारमा टिप्पणी गर्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारको आलोचना गर्दा गुण र दोषका आधारमा गर्न संचारकर्मीलाई आग्रह गर्नुभएको छ ।
मंगलबार पद बहाली गर्दै थापाले वर्तमान सरकारप्रति सत्ता परिवर्तनजस्तो मिसन नबनाउन आग्रह गर्नुभयो । सरकारका कामकारबाहीमा समर्थन र आलोचना गर्ने विश्वव्यापी प्रवृत्ति अधिकार भए पनि सरकारविरुद्ध मिसनै नबनाउन थापाले आग्रह गर्नुभयो ।
‘सरकारलाई गुण र दोषका आधारमा आलोचना गर्ने विश्वव्यापी सञ्चारको अधिकार हो’, उहाँले थप्नुभयो ‘सत्ता परिवर्तनजस्तै मिसन बनाउनुहुँदैन । गुण र दोषका आधारमा आलोचना गर्ने अधिकार तपाईंहरूसँग छ ।’
तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका थापा पत्रकारितामा लामो समयदेखि क्रियाशील तथा हाल नेकपा केन्द्रीय सदस्य र पार्टी प्रचार विभागका उपप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । ‘मेरो पालोमा थालिएको प्रेस नोट मैले निरन्तरता दिनेछु’, थापाले भने, ‘त्योभन्दा अझै कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग थप छलफल गर्नेछु ।’
पत्रकारहरूले थापालाई सूचनामा पारदर्शी बन्न सुझाव दिएका छन् । प्रधानमन्त्री कार्यालयबाट सही सूचना समयमा नदिएका कारण समस्या भएको गुनासो पत्रकारले गरेका थिए ।
