ज्ञानेन्द्र मल्ल बने नेपाली क्रिकेट टोलीका कप्तान, यस्तो छ ईतिहास
ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टोलीका नयाँ कप्तान बनेका छन् । उनले लामो समयदेखि नेपाली क्रिकेट हाँकिरहेका पारस खड्काको स्थान लिएका हुन् । पारसले तीन साताअघि कप्तानी पदबाट राजीनामा दिएका थिए । पारसले दशक नेपाली टोलीको कप्तानी गर्दा ज्ञानेन्द्र अधिकांस समय उपकप्तानमा रहे ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सामाजिक सञ्जालबाट ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको जनाएको थियो । नेपाली राष्ट्रिय टोलीबाट सन् २००६ मा खेल्न थालेका ज्ञानेन्द्र २००९ मा उपकप्तान बनेका थिए । सोमबार नेपाल भ्रमणमा आएको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध ज्ञानेन्द्रको पूर्ण कप्तानीमा नेपालले पहिलोपल्ट खेल्नेछ ।
क्यानले दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । ज्ञानेन्द्र व्यक्तिगत कारण हालै सिंगापुरमा भएको त्रिकोणात्मक ट्वान्टी–२० शृंखला र ओमानमा भएको पाँच राष्ट्रसम्मिलित ट्वान्टी–२० शृंखलामा अनुपस्थित रहँदा नै दीपेन्द्रलाई पारसको कप्तानीमा उपकप्तान बनाइएको थियो । ज्ञानेन्द्रका अनुसार उनलाई एमसीसीसँग शृंखला, डिसेम्बर १ देखि १० सम्म काठमाडौं आयोजना हुने दक्षिण एसियाली खेलकुदसम्मका लागि कप्तानीको जिम्मेवारी दिइएको छ । यस बीचमा नेपालले बंगलादेश भ्रमणमा गएर पनि खेल्न सक्नेछ ।
ज्ञानेन्द्रले सन् २०१४ मै नेपालको कप्तानी गरेका थिए । न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा पारस घाइते भएपछि ज्ञानेन्द्रले यूएईसँगको पहिलो खेलमा नेपालको नेतृत्व गरेका थिए । पारस अस्वस्थ रहेको समयमा ज्ञानेन्द्रले केन्यासँग विश्व क्रिकेट लिग छनोटको दुई खेल र बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालको कप्तान गरेका थिए ।