यस्तो छ नेपाल भ्रमण वर्ष २०२० सचिवालय र एनअारएनएबीच समझदारीको पूर्णपाठ

मूलखबर संवाददाता
काठमाडौं

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र गैर आवासीय नेपाली संघ वीच नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी समझदारी

नेपाल सरकारले बार्षिक कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको प्रवर्द्धन गर्नको लागि नेपाल भ्रमण वर्ष, २०२० को सचिवालय प्रथम पक्ष (यसपछि सचिवालय भनिने) र गैर आवासीय नेपाली संघ द्वितीय पक्ष (यसपछि संघ भनिने) वीच निम्नानुसारका बुँदाहरुमा सहमत भई समझदारी पत्रमा हस्ताक्षर भयो ।

तपशिल
१। संघले नेपाल भ्रमण वर्ष, २०२० का सन्दर्भमा विश्‍वभरबाट एक नेपालीले एक बिदेशी साथी नेपाल पठाउ अभियान सन्चालन गर्ने छ । उक्त कुराको अभिलेखिकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने ब्यक्ति वा संघ संस्थालाई सम्मान गर्नको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।

२। संघले नेपाल भ्रमण वर्ष, २०२० अवधिभर संघका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ संघको आयोजनामा नेपालमा हुने विभिन्‍न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भुमिका सचिवालयले निर्वाह गर्नेछ ।
३। संघले विश्वभरी रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा ‘ “Spend Holiday in Nepal with Family and Friends” अभियान संचालन गर्नेछ ।
४। संघले विदेश स्थित नेपाली दूतावास र नियोगहरुमा “भ्रमण वर्ष प्रवर्द्धन कक्ष” स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने छ ।
५। नेपाल भ्रमण वर्ष, २०२०को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले बर्षभरी विश्वका प्रमुख शहरहरुमा कार तथा साईकल र्र्याली गर्नेछ ।
६। संघका विश्वभरी रहेका सदस्य तथा विभिन्न नेपाली संघ संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्नेछ ।

७। संघले गैर आवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचार प्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।
८। संघले विश्वभरी छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा बिदेशी मित्रहरुका सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष, २०२० लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउने छ ।
९। संघले विश्वभरिमा कम्तिमा ५० देशमा Miss NRN International आयोजना गर्ने र उक्त प्रतियोगिताको Finale” २०२०, जुन महिना भित्र नेपालमा गर्नेछ।
१०। सचिवालय र संघको समन्वयमा आगामी जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका निम्ति सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ ।
११। संघले सम्बन्धित देशका सञ्चार माध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्ने छ ।
१२। सचिवालय र संघको समन्वयमा विश्‍वभर रहेका नेपाली तथा विभिन्‍न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।

१३। संघले विश्‍वभरीका विभिन्‍न देशहरुका सार्वजनिक स्थलहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामाग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने छ ।
१४। सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टूर अपरेटर, मिडिया लगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्ने छ ।
१५। सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामाग्री उत्पादन गरी वितरण गर्ने छ ।
१६। सचिवालयले एक नेपालीले कम्तिमा एक विदेशी साथी नेपाल पठाउ अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ।
१७। उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक श्रोतको प्रबन्ध संघले गर्नेछ ।