साहित्य सम्मेलनमा प्रधानमन्त्रीको आक्रोस : ‘सञ्चारमाध्यम र पत्रकारले शिष्टता विर्सिए’

मूलखबर संवाददाता
काठमाडौं, २८ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टी जनाउनुभएको हो ।

उहाँले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराउनुभयो । उहाँले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयापुस्ताले विर्सदै गएको बताउनुभयो । विशेष गरेर सामाजिक सञ्जाल र संचारक्षेत्रमा प्रयोग भएका भाषा प्रति उहाँले गम्भीर असन्तुष्ठी जाहेर गर्नुभयो ।

उहाँले भन्नुभयो “सभ्यताका पर्खालहरु बागमतिमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाई भन्दैन । तिमी भन्दा माथि उठेर । यो एउटा ट्रेन हो । किन भने अग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाई भन्न गाहे लाग्यो । किन भने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने ?

सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । सानालाई तिमी भन्ने ठुलालाई तपाई भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ । ”

दक्षिण एसियाका कतिपय देशहरुमा जनताको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको , बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरि राजनीतिक, आर्थिक अवस्था सुदृढ गर्दे विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उहाँले गर्नुभयो । नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भएपनि अझै पनि थिति नबस्दाका ‘धङधगीहरु’ कायमै रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “परिर्वतन भयो । थिति बनाउने तर्फ हामी गयौ । थिति नबस्दाका धङधगीहरु छदै छन् । जसलाई फेरी हामी हिजोकै आदत अथवा हिजोका आदतले परिर्वतित सन्र्दभका छुटहरुलाई बेठिक ढंगले बुझ्ने प्रवृति पनि छदैछ । आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ । किन भने यसले अबको बाटो के हो भनेर जसरी समग्रतामा समाउन पर्ने त्यो अलि समात्न सकेको छैन ।”

उहाँले कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएको भन्दै उहाँले कला, संस्कृति, सभ्यता र साहित्यलाई सम्वद्र्धन गर्दे अघि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उहाँले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रबर्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो । सम्मेलन कात्तिक ३ गते सम्म चल्ने छ ।