एनआरएनएको ९ औ विश्व सम्मेलन भोलीदेखि राजधानीमा, अध्यक्षमा पन्त र आचार्य भिड्दै

मूलखबर संवाददाता
काठमाडौं, २७ असाेज

गैर आवासिय नेपाली संघको एनआरएनएको ९ औ अधिवेशन एवम् विश्व सम्मेलन भोलीदेखि राजधानीमा काठमाण्डौमा हुने भएको छ ।

संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा ८१ मुलुकका गैह् आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरि २ हजार ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ । सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ । “म, मेरो एन आर एन ए र मेरो नेपाल” भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ । ।

यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधारण नेपालीहरु जस्तै गैह् आवासिय नेपालीहरु ठगिएको बताएको छ ।
पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको बताउनुभएको हो । विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उहाँले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिनुभयो । तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “जसरी सर्वसाधारण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैह् आवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु ।

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ ।

सम्मेलनमा आगामी कार्यकालको लागि नेतृत्व समेत चयन गरिनेछ । जसको लागि उम्मेदवारी घोषणाको क्रम चलिरहेको छ । हाल सम्म अध्यक्षको दावेदारमा वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कूल आचार्य देखिएका छन् । उनीहरु आफ्नो पक्षमा प्यानल नै बनाउने तयारीमा लागेका छन् । पन्तले आज भन्दा एक महनिा अघि नै उम्मेदवारी घोष्णा गरेका थिए भने आचार्यले आज औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।