काँग्रेसकाे चियापानमा नेताकाे लस्कर : शुभकामना दिँदै प्रचण्डले के भने ?
त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ्ग, राजपाका नेता महन्थ ठाकुर, पुर्व प्रधानसेनापति रुकमाङ्गगत कटवाल, विभिन्न दलका नेता कार्यकर्ताहरु, माअवधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो ।
चियापान समारोहमा विभिन्न पेशागत संघसंस्थाका पदाधिकारी, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा, गैह् आवासीय नेपालीहरु, विशिष्ट महानुभावहरु तथा नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो । चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो ।
२०३३ सालमा स्वर्गीय विपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ साल देखि हरेक बर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दे आएको छ ।
प्रचण्डले के भने ?
चियापान र शुभकामना आदानप्रदान कार्यक्रमको शुरुवात नेपाली काँग्रेसबाटै भएको हो । अहिले यो राष्ट्रिय राजनीतिक संस्कृति जस्तै स्थापित भएको छ । सबैले शुभकामना आदान प्रदान कार्यक्रम मार्फत् हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण्य राख्ने एउटा माध्यम बन्न गएको छ ।
शुभकामना राख्दै गर्दा मैले विभिन्न राजनीतिक दलको रुपमा भन्दा पनि नेपालको परिवर्तनको सहयात्रीहरुको बीचको शुभकामना आदानप्रदान कार्यक्रम मानेको छु । जसको शुरुवात तपाईंहरुले गर्नुभएको छ र यो पटक तपाईंहरुले अझ व्यवस्थित, अनुशासित रुपले यो कार्यक्रमको आयोजना गर्नुभएको छ । यसको निम्ति पनि म हृदयदेखि धन्यवाद भन्न चाहन्छु ।
मैले आउँदै गर्दा तपाईंहरुको मनोबल बढ्दै गरेको, संस्कृतिप्रतिको लगाव र निष्ठा अक्षुण्य रहेको महसुस गरें । यस अर्थमा पनि म तपाईंहरुलाई बधाई भन्न चाहन्छु ।
राजनीति यस्तै नै हो । मैले भन्ने गरेको छु, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीको नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिन्छ भन्ने कुराको एउटा ठूलो दृष्टान्त पछिल्लो चरणमा दिवंगत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर शुरु गरेको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र हामीहरुको बीचमा भएको सहकार्य र सहयात्राको एउटा नयाँ अभियानले प्रमाणित गरेको छ ।
एकता, सहकार्य र सहयात्रको अभियानमा दिवंगत गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको थियो र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै देशमा दिगो शान्ति र एउटा समृद्ध नेपालको अभियानतिर लैजाने जो प्रयास भएको थियो, हामीले यस प्रकारका शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्दैगर्दा त्यो महाअभियान, त्यतिबेला हामीले लिएका संकल्प र प्रतिबद्धताहरुप्रति दृढ रहने र संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत् देशको राष्ट्रिय स्वधीनता र जनताको समृद्धिको आकांक्षाको सम्बोधन गर्ने कुरा नै मुख्य हो भन्ने म ठान्छु ।
म फेरि पनि के भन्न चाहन्छु भने नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसूस हुन्छ । तपाईंहरुसँग आउँदा सहयागीहरुसँगै भेटघाटमा आएको महसूस हुन्छ । हेर्दै जाऊँ आगामी दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ ?
मलाई विश्वास छ, तर पनि हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको संकल्प जारी रहनेछ र सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढिराख्नेछौं भन्ने विश्वाससहित फेरि एक चोटी बधाई र शुभकामना भन्दै विदा हुन चाहन्छु ।