अख्तियारमा भारतीय दूतावासको उजुरीले हल्लीखल्ली
दूतावासको काम कूटनीतिक प्रयासबाट दुई देशबीचको सम्बन्ध सुमधुर राख्नु हो । आफ्ना नागरिकलाई परेको दुःख निवारणमा पनि दूतावासले भूमिका खेल्छन् ।
यद्यपि, विभिन्न देशमा स्थापित नेपाली दूतावासहरू आफ्ना नागरिकको समस्यामा लापरवाह देखिएको भन्दै आलोचित बन्दै आइरहेका छन् । यस्तोमा नेपालस्थित भारतीय दूतावास पृथक देखिएको छ । नेपालसँग दौत्य सम्बन्ध कायम रहेर स्थापित दूतावासमध्ये रणनीतिक र सक्रिय छवि भारतीय दूतावासको छ ।
अनावश्यक सक्रियता देखाएको भनेर भारतीय दूतावासप्रति असन्तुष्ट पनि उत्तिकै छन् । यहीबीच, भारतीय दूतावासले गैरकानूनी सम्पत्ति आर्जन गरेका व्यक्तिबारे समेत चासो राखेको पाइएको छ । काठमाडौं महानगरपालिका–१४, कालीमाटी रोडका सन्तोष कुमार, छोटेलाल प्रसाद र जुगेश्वर साह सर्लाहीकाे गैरकानूनी सम्पत्ति आर्जनबारे दूतावासले चासो राखेको हो । दूतावासले यी दुईको सम्पत्ति छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
भारतीय दूतावासको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको सम्बन्धमा अनुसन्धान गर्न भन्दै कुमार र साहलाई बोलाएको छ । ०७६/५/२७ गते सूचना जारी गर्दै उसले नआएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित भारतीय राजदूतावासको हवाला दिएर उपस्थित हुने सात दिने सूचना जारी गरेपछि कूटनीतिक क्षेत्रमा आश्चर्य मानिएको छ ।
कुनै पनि राजदूतावासले नेपाल सरकारका कुनै पनि निकायका बारेमा कुनै पत्राचार गर्नुुप¥यो भने परराष्ट्र मन्त्रालय मार्फत गर्नुपर्नेमा ‘गैरकानूनी सम्पत्ति आर्जन’का बारेमा भारतीय राजदूतावासको दर्ता नम्बर उल्लेख गरेर नेपाली नागरिकलाई अख्तियारमा हाजिर हुने गोरखापत्रमार्फत सूचना कसरी जारी भयो भन्ने प्रश्न उठेको छ ।
अख्तियारबाट यस्तो सूचना प्रकाशित भएको समाचार २०७६ भदौ ३० गतेको साँघु साप्ताहिकमा प्रकाशित भएपछि काठमाडौंस्थित भारतीय राजदूतावासमा समेत हल्लीखल्ली भएको श्रोत बताउँछ ।- साँघुन्युजबाट