बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्न भारतले दिएन सहमति
भारतले सहमति नदिएपछि यही सिजनदेखि बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना तत्काललाई रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा नियमित रूपमा ४० मेगावाट नै विद्युत् निर्यात गर्न भने सुरु गरेको छ । प्राधिकरणले सोमबारदेखि भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्न सुरु गरेको हो । भारतको सहमति नआएका कारण थप २० मेगावाट विद्युत् निर्यात गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।
भारतीय प्रसारणलाइन प्रयोग हुने भएका कारण यसमा भारतको सहमति अनिवार्य छ । प्राधिकरणले ३० कात्तिक ०८१ देखि बंगलादेशमा विद्युत् निर्यात गर्न सुरु गरेको हो । हरेक वर्ष १ असारदेखि ३० कात्तिकसम्म ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्ने सम्झौता गरिएको छ । सोही मोडेलमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गत मंसिरमा बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकमा भएको थियो । यो सिजनबाट यसलाई कार्यान्वयन गर्ने सहमति पनि थियो । तर, भारतले आफ्नो प्रसारणलाइनको क्षमताले नपुग्ने भन्दै २० मेगावाट विद्युत् थप गर्न मानेन ।
यो सहमति कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) र बंगलादेश पावर डिभलपमेन्ट बोर्डबिच भएको त्रिपक्षीय सम्झौता संशोधन गर्नुपर्छ । नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न १७ असोज ०८१ मा यी तीन निकायबिच सम्झौता भएको थियो । सोही सम्झौतालाई संशोधन गरेर विद्युत् निर्यातको मात्रा ४० मेगावाटबाट बढाएर ६० मेगावाट राख्नुपर्ने थियो । अन्य सर्तहरू पुरानै कायम हुने थिए ।
यद्यपि, त्यसका लागि पहिला नेपाल भारत संयुक्त ऊर्जा सचिवस्तरीय बैठकमा सहमति हुनुपर्ने थियो । तर, डेढ वर्षदेखि ऊर्जासचिवस्तरीय बैठक हुन सकेको छैन । त्यो अवस्थामा प्राधिकरणले एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)मार्फत भारतको केन्द्रीय विद्युत् प्राधिकरणलाई बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने अनुमति दिन प्रस्ताव गरेको थियो । तर, केन्द्रीय विद्युत् प्राधिकरणले भारत–बंगलादेश अन्तरदेशीय प्रसारणलाइनको क्षमताले नपुग्ने भन्दै २० मेगावाट विद्युत् थप गर्न नसक्ने जवाफ दिएको खबर नयाँ पत्रिकामा छ ।




