
पत्रकार पुडासैनी आत्महत्या प्रकरण : ५ लाख धरौटिमा रिहा भए पत्रकार रवि लामीछाने, अरु के गर्यो अदालतले फैसला ?
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की शशर्त रिहा भएका छन् । उनीहरुको विषयमा चितवन जिल्ला अदालतले दिएको आदेश सार्वजनिक गरेको छ। संक्षिप्त आदेश अनुसार लामिछाने पाँच लाख, युवराज तीन लाख र अस्मिता साधारण तारेखमा छुटेका छन्।
उनीहरुले थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँने छन्। तर उनीहरु अदालतले तोकेको मितिमा नियमित तारेखमा भने उपस्थित हुनुपर्नेछ। सोमबारको आदेश मुद्दामा थुनामा बसेर पुर्पक्ष वा थुना बाहिरै रहेर धरौटी वा साधारण तारेखमा पुर्पक्ष गर्ने भन्ने विषयमा सम्बन्धित छ।
रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन् भने आदेश अनुसार तीनजना प्रतिवादीले कारागारमा नगई बाहिरै बसेर मुद्दाको तारेखमा बस्ने सुविधा पाएका छन्।
चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले यस्तो आदेश दिएको हो। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो।
रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो। रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो। लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।
चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए।
पत्रकार पुडासैनीले आत्महत्याअघि अस्मिता, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेलमाथि प्रहरीले १० तीनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि बाध्य बनाएको बताएका छन्। उनी साउन २० गते चितवनको होटल कांगारुमा डोरीले पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन्। लामिछानेका कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको दाबी पुडासैनीले गरेका छन्।
लामिछानलाई पुडासैनीको आरोप बमोजिम अनुसन्धानको लागि पक्राउ गरिएपछि देशभरबाट उनको पक्षमा मानिसहरु चितवन गई आन्दोलन गरेर वातावरण असहज र हिंसात्मक बनाएका थिए । तर प्रहरी र स्थानिय जिल्ला पदाधिकारी र जनप्रतिनिधिको संयममताको कारण यो प्रकरण शान्तिपूर्ण ढंगले टुंगिएको छ । तथापी ९ गते विहान ९ बजेदेखि चितवन प्रशासनले कफ्यु समेत लगाउन बाध्य भएको थियो ।
