
आज महाशिवरात्री : पशुपतिनाथमा ५ लाखले दर्शन गर्ने, यस्तो छ व्यवस्था
आज फागुन १४ । हिन्दुहरूकाे मुख्य पर्व महाशिवरात्री । शिवरात्रीकाे अवसरमा पशुपतिनाथ मन्दिर आसपास मानविय भिड अत्यधिक छ ।
शिवरात्रीमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषले जनाएको छ ।
शिवरात्रिका अवसरमा बुधबार बिहान २ बजेदेखि मन्दिर खुला गरिएकाे छ । शिवरात्रिका दिन दर्शनार्थीको भीड नसकिउन्जेलसम्म मन्दिर खुला रहनेछ र मूल भट्टसहित ५ जना भट्टहरू मन्दिरमा रहनेछन् ।
त्यस्तै पशुपति मन्दिरका चार ढोकाका आधारमा चारवटा लाइन बाहिरबाट मन्दिरभित्र पस्ने व्यवस्था गरिएको कोषले जनाएको छ । मन्दिरभित्र ती चार लाइनलाई १० वटा सहायक लाइन बनाएर प्रत्येक भक्तजनले २ सकेन्ड दर्शन गर्न पाउनेछन् । सर्वसाधारणले लाइनमा धेरै समय बिताउनु नपरोस् भनी बाहिरबाट मन्दिरभित्र पस्ने चारवटा लाइनलाई १० वटा शाखा लाइन बनाएर मन्दिरका चारवटै ढोकाबाट २/२ सेकेन्ड दर्शन गराउँदै निकाल्ने व्यवस्था गरिएको काेषले जनाएको छ ।
शिवरात्रिमा वितरण गरिने पास दुरुपयोग भएको भन्दै कोषले यसपटक पास खारेज गरेको छ । भीभीआईपी र भीआईपी दर्शनार्थीलाई पशुपति मन्दिरभित्र लैजान वनकालीमा रहेको कोषको कार्यालयमा हेल्प डेस्क राखिएको छ । कोषका कार्यकारी निर्देशक जोशीको संयोजनमा भीआईपी अतिथिले मन्दिर दर्शन गर्न पाउनेछन् । त्यस्तै वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई कोषले वनकालीमा रहेको हेल्प डेस्कबाट सोझै मन्दिर लैजाने सुविधा दिने जनाएको छ । लाइनमा रहने वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वयंसेवक तथा सुरक्षाकर्मीले सघाउने कोषले जनाएको छ ।
