के गर्दैछ कांग्रेस ? अन्तरिम संरचना गठनमा अझै अन्यौल

मूलखबर संवाददाता
काठमाडौं, ९ भदौ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अन्तरिम संरचना गठनको विषयमा पार्टीको केन्द्रीय तहबाटै आलटाल भइरहेको छ । २० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्तिकभित्रै सबै कार्यसमिति समायोजन गरी सक्ने गरी २६ साउनको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

तर, भदौ दोस्रो साता लागिसक्दा समेत अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम टुंगो लाग्न सकेको छैन ।
प्रतिनिधि कसलाई पठाउने भन्नेमा समेत कांग्रेस केन्द्रीय समिति बैठकमा विवाद भएको थियो । केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यलाई नै प्रतिनिधि पठाउन संस्थापन पक्षको प्रस्ताव आएपछि इतर पक्षले असहमति जनाएको थियो भने त्यसपछि केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिइएको थियो ।  कांग्रेस उपसभापति विमलेन्द्र निधिले अन्तरिम संरचना गठनका विषयमा केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको र समितिले तयारी गरिरहेको बताए ।

‘अन्तरिम संरचना गठनबारे निर्वाचन समितिले काम गरिरहेको छ, पार्टीभित्र पनि छलफल भइरहेको छ । छिट्टै संरचना गठनको काम सुरु हुन्छ,’ उपसभापति निधिले राजधानीसँग भने । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले प्रतिनिधि कसलाई पठाउने भन्ने छलफलकै क्रममा रहेको र केही दिनभित्रै कसलाई पठाउने टुंगो लाग्ने बताए ।

‘प्रतिनिधि कसलाई पठाउने भन्ने टुंगो लागिसकेको छैन । छलफलकै क्रममा छौं । १–२ दिनमा नै टुंगो लाग्छ,’ केन्द्रीय निर्वाचन समितिका संयोजक अधिकारीले भने । उनले केन्द्रीय प्रतिनिधिले जिल्ला पुगेर पार्टीले अन्तरिम संरचना गठनका विषयमा बनाएको निर्देशिकामा उल्लेख भएका विषयलाई गाइडलाइन मानेर काम गर्ने समेत जनाए । प्रतिनिधिले निर्देशिकाअनुसार नै प्रतिनिधिसभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा बैठक गरी संरचना गठन प्रक्रिया थाल्नेछन् । प्रदेश संरचना गठनको विषयमा भने कांग्रेसभित्र अझै सहमति जुट्न सकेको छैन । धेरैजसो स्थानीय तह पनि सिमाना हेरफेरका कारण नेतृत्वविहीन भएका छन् ।

पार्टीको रिक्त संरचना गठनको विषयलाई कांग्रेसले निर्देशिका बनाएर टुंगो लगाएको थियो । निर्देशिकाअनुसार अन्तरिम संरचना गठन सहमतिबाटै गर्ने कांग्रेस शीर्ष तहमा सहमति भएको छ । तर, सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन हुने उल्लेख छ । सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा नेतृत्व चयन गरिनेछ ।

कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टीको विधानलाई संघीय संरचनामा लगेको थियो । जसअनुसार केन्द्रदेखि बुथ तहसम्म गरी कांग्रेसको आठ तहको पार्टीको संरचना विधानमा उल्लेख छ । हाल कांग्रेसको केन्द्र र ७५ जिल्लाबाहेकका संरचना छैन । राजधानी दैनिकमा खबर छ