
प्रधानमन्त्री ओलीको उपचार एक महिनासम्म लम्बिन सक्ने !
सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो। उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।
प्रधानमन्त्री ओलीलाई पहिलोपटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको हो। यही अवस्था रहने हो भने उनको सिंगापुर बसाइ एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ। चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि प्रयोग गरिन्छ। नेपाल चिकित्सक संघको महासचिवसमेत रहेका चिकित्सक लोचन कार्कीका अनुसार मिर्गौलालाई कमजोर पार्ने एन्डीबडीसहितको प्लाज्मालाई निकालेर एन्टीबडीरहित ताजा प्लाज्मा फेर्ने उपचार विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ।
मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्लेका अनुसार प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा तीनपटकका लागि प्रयोग गरिन्छ। त्यसपछि पनि मिर्गौलामा एन्टीबडी मात्रा घटेन भने ६ पटक प्लाज्मा फेरेसिस गरिन्छ। ‘सातपटकसम्म उक्त उपचार विधि अपनाउनु भनेको प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा एन्डीबडी धेरै नै बनेको रहेछ भन्ने बुझिन्छ,’ डा। काफ्लेले भने। प्रधानमन्त्री निकट चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको रगतमा ‘क्रिएटिनिन’ को मात्रा २ मिलिग्राम पुगेको छ।
रगतमा क्रिएटिनिनको सामान्य मात्रा पुरुषमा ०।६ मिलिग्रामदेखि १।२ मिलिग्रामसम्म हुन्छ। मिर्गौला कमजोर भएपछि क्रिएटिनिनको मात्रा बढ्ने गर्छ। क्रिएटिनिन जति बढ्यो मिर्गौलाको कार्यक्षमतामा त्यति नै ह्रास हुने चिकित्सकहरुको भनाइ छ।
डा। काफ्लेका अनुसार ६० वर्ष नाघेपछि मानिसको रगतमा क्रिएटिनिनको मात्रा बढ्दै जान्छ। प्रधानमन्त्री ओली पनि यही उमेर समूहमा पर्छन। प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलासिसमै जानुपर्ने अवस्था आउने डा. काफ्लेले जानकारी दिएको खबर नागरिक दैनिकमा छ ।
