जुम्लामा लोपोन्मुख हिमाली भालुको बच्चा भेटियो

काठमाडौं,१४ जेठ ।

लोपोन्मुख अवस्थामा रहेको हिमाली भालुको बच्चा जुम्लाको पाण्डुगुफा गाविसमा भेटिएको छ ।

पाण्डव गुफास्थित रानीचौरको तिलाचौर वनमा स्थानीय पूर्णबहादुर कार्कीले मंगलबार भालुको बच्चा भेटाएका हुन् ।

सिंजाबाट भालुको बच्चा भेटिएको खबर आएपछि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु उक्त स्थानमा गएर प्रहरी मुचुल्कासहित जिल्लामा ल्याइएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

भेडी गोठाला कार्कीको भेडाको बगालमा दुईवटा बच्चासहित भालु भेटिए पनि साढे एक वर्षको पोथी भालुको बच्चा छोपेर जिल्ला वन कार्यालयमा सुरक्षित राखिएको उनले बताए ।

भालुको बच्चालाई पशु सेवा कार्यालयमा स्वास्थ्य परीक्षण गराउँदा त्यसको अवस्था सामान्य देखिएको वन कार्यालयले जनाएको छ ।

वन विभागसँगको साझेदारीमा अबको केही दिनमा भालुको बच्चा काठमाडौँको चिडियाखानामा लैजाने व्यवस्था मिलाइएको वन अधिकृत श्रेष्ठले जनाए । रासस