आयल निगमद्वारा दुर्गमका १० सहित सबै जिल्लामा पम्प राख्ने तयारी
नेपाल आयल निगमले सबै जिल्लामा पेट्रोल पम्प पुर्याउने उद्देश्यले दुर्गमका १० जिल्लामा पनि पम्प सञ्चालन गर्ने तयारी थालेको छ ।
निगमले बझाङ, बाजुरा, कालीकोट, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपूर्व, मनाङ र मुस्ताङ जिल्लामा कम्तीमा एउटा पम्प खोल्ने योजना बनाएको छ । प्याक्ट बिक्रेतामार्फत बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ ।
निगम व्यवस्थापनका अनुसार पहिलो चरणमा निजी क्षेत्रका लागि खुला गरिनेछ । निजी क्षेत्र इच्छुक नभए निगम आफैंले सञ्चालन गर्ने तयारी थालेको छ । निगमले अहिले विवरण संकलन गरिराखेको जनाएको छ ।
पम्प नहुँदा बोटल/बोटलमार्फत इन्धन बिक्री हुन्छ । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन । उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सबै जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जनाए ।
‘दुर्गममा पम्प नहुँदा प्याक्ट बिक्रेता (ड्रमबाट) बिक्री हुन्छ । पहुँच नभएको स्थानमा बोटलबाटै बिक्री हुन्छ, त्यो पनि महँगो मूल्यमा । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका जिल्ला प्रशासन कार्यालयबाट गुनासो आएको छ,’ निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, ‘सर्वसाधारणको हितलाई मध्यनजर गर्दै पम्प सञ्चालन नभएका जिल्लामा खोल्न निगम सञ्चालक समितिले स्वीकृति दिइसकेको छ । अब छिट्टै सूचना प्रकाशन गर्छौं ।’