नक्कली फेसकुक आइडीमार्फत केटी साथी बनाउँदै २७ लाख ठगी गर्ने पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, ४ मंसिर

नक्कली फेसबुक अकाउन्टको प्रयोग गरी २७ लाखभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली अकाउन्ट निर्माण गरी करिब २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

सूचना अधिकारी आचार्यका अनुसार निजले फेसबुकको दुरुपयोग गर्दै केटी साथी बनाई आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, सिंगापुर लैजान्छु, सिंगापुर लैजानका लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौं, चितवनका विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।