आतंकवादको प्रायोजकविरुद्ध मुद्दा हाल्न अमेरिकामा विधेयक पारित
काठमाडौं,५ जेठ ।
अमेरिकाको माथिल्लो सदन सीनेटले आतंकवादको प्रायोजकविरुद्ध मुद्दा हाल्नसक्ने प्रावधानसहितको विधेयक पारित गरेको छ । विधेयकले कानूनको रुप लिएमा सेप्टेम्बर ११, सन् २००१ को आतंकवादी आक्रमणमा पीडित भएकाले साउदी सरकारबिरुद्ध अदालतमा मुद्दा हाल्न सक्ने छन् ।
आतंकवादको प्रायोजनबिरुद्धको न्यायसम्बन्धी यस विधेयक अब तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभमा पठाइने छ । प्रतिनिधिसभाबाट पनि पारित भएमा यसले कानूनको रुप लिनेछ ।
तर संसदले विधेयक पारित गरे पनि राष्ट्रपति बाराक ओबामाले यसविरुद्ध भीटो अधिकार प्रयोग गर्न सक्ने बताइएको छ । सेप्टेम्बर ११ को घटनामा पीडित भएकाहरुले घटनामा संलग्न रहेको साउदी सरकारका कुनै पनि सदस्यबिरुद्ध मुद्दा हाल्न सक्ने अधिकार यस कानूनले दिनेछ ।
सउदी अरबका विदेश मन्त्रीले अमेरिकाले यो कानून पारित गरे अमेरिकासँगको आफ्नो लगानी फिर्ता गर्ने चेतावनी दिएका छन् ।