छिमेकी लघुवित्त विकास बैंकको प्रगति
काठमाडौं, २१ वैशाख ।
छिमेकी लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।
यो बैंकले ७१.२६ प्रतिशतले खूद नाफामा वृद्धि गर्दै कमालको प्रगति हासिल गरेको हो ।
मंगलबार सार्वजनिक गरिएको विवरण अनुसार यो बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १९ करोड २८ लाख रुपैयाँ रहेको खूद नाफा चालु आ.ब.मा बढाएर ३३ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।
यो लघुवित्त विकास बैंकले ३ अर्ब ८१ करोड निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ८७ करोड मात्र निक्षेप संकलन भएको थियो । यसैगरी, यो बैंकले अघिल्लो आबमा ७ अर्ब १९ करोड कर्जा लगानी गरेकोमा यो वर्ष ९ अर्ब २८ करोड पुर्याएको छ ।
हाल यो बैंकको चुक्तापँुजी ५९ करोड ५७ लाख तथा सञ्चित कोष७ ७९ करोड ६३ लाख पुगेको छ ।
छिमेकी लघुवित्तले खूद ब्याज आम्दानीमा पनि राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो आ.ब.को यही अवधिमा ४९.५६ करोड रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर ७५.४२ करोड पुगेको छ । यो संस्थाले अघिल्लो आ.ब.को तेश्रो त्रैमासमा ३०.३१ करोड रहेको संचालन नाफा बढाएर यो वर्ष ५१.३७ करोड पुर्याएको छ ।
अघिल्लो आ.ब.को यो अवधिमा ०.०२ प्रतिशत रहेको निस्क्रिय कर्जा यो आ.ब.मा ०.२४ प्रतिशत पुगेको छ । यो बैंकले प्रति शेयरतर्फ ७५.१९ रुपैयाँ आम्दानी गरी प्रति शेयर नेटवर्थ १४६.०२ रुपैयाँ पुगेको छ ।
यसैगरी, अर्को लघुवित्त संस्था साना किसान विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो आ.ब.को सोही अवधिको तुलनामा ३९.७६ प्रतिशतले नाफा बढाउँदै १६ करोड १ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।
मंगलबार सार्वजनिक विवरण अनुसार खूद ब्याज आम्दानी २४ करोड ८१ लाखबाट बढाएर ३३ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष ७ अर्ब १० करोड निक्षेप संकलन गरेको यो संस्थाले यो वर्षको सोही अवधिमा ८ अर्ब ७३ करोड निक्षेप संकलन गरेको छ । तेश्रो त्रैमास अवधिमा आइपुग्दा यो लघुवित्त संस्थाको चुक्तापूँजी ४० करोड २४ लाख र सञ्चित कोष ८६ करोड २ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो त्रैमासमा ०.१८ प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्ष घटेर ०.१३ प्रतिशतमा आइपुगेको छ । यो संस्थाले प्रति शेयर आम्दानी ६२.२९ रुपैयाँ गरेको छ भने प्रति शेयर नेटवर्थ ३६६.२५ रु. पुगेको छ ।