अर्थतन्त्रका बाह्य सुचक सकारात्मक छन्- अर्थमन्त्री पाैडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक रहेको बताएका छन्।
आइतवार नेपाल राष्ट्र बैंकको ०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स, मुद्रास्फीतिसमेत सीमाभित्रै नियन्त्रणमा रहेको दावी गरे।
‘अहिले मुलुकको अर्थतन्त्रका बाह्य पक्षहरु सबल र सकारात्मक छन्। सरकारको विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स, मुद्रास्फीति सीमाभित्रै र नियन्त्रणमा छ‚’ उनले भने, ‘बैंकहरुमा तरलता राम्रो छ। बैंकिङ ब्याजदर घटेको छ। यी सबै अर्थतन्त्रका सूचकहरुलाई सरकारले सकारात्मक रुपमा लिएको छ।’
उनले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीतिको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पनि दावी गरे। उनले पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा रहेको बताए।
अर्थमन्त्री पौडेलले ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग र अभिप्रेरित कसरी गर्ने प्रश्न उब्जिएको उल्लेख गरे।
उनले समग्र बजारको मागमा कमी हुने, उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पुँजीगत खर्च गर्ने विषयमा सरकार दबाबमा वा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको उल्लेख गरे।
उनले समग्र बजार माग वृद्धि गर्ने, उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पुँजीगत खर्च वृद्धि गर्नमा सरकारको ध्यान केन्द्रित भइरहेको बताए। उनले मुलुकको अर्थतन्त्रमा केही चुनौतीहरु देखापरेको पनि बताए।