पत्रकार तथा गीतकार क्षेत्रीको निधन
काठमाडौं, १७ बैशाख ।
पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । ब्रेन ट्युमर भएपछि डेढ वर्षदेखि उपचाररत क्षेत्रीको गएराति सवा ९ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । लामो समय उज्यालो एफएममा कार्यरत क्षेत्री प्रेस युनियनका सचिव समेत थिए ।
०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भएको थियो ।
स्याङ्जा घर भएका क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन् । क्षेत्रीको आज काठमाडौंमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ । आमा बुवा गृह जिल्ला स्याङ्जाबाट काठमाडौं पुगेपछि दाहसंस्कार गर्ने तयारी छ ।
श्रद्धाञ्जलिका लागि उनको शवलाई आज बिहानदेखि राष्ट्रिय प्रज्ञाभवनमा राखिएको छ ।
यसैबीच नेपाल प्रेस युनियनले क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।