राष्ट्रिय परिचयपत्रको काम अघि बढाउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं,१६ वैशाख ।

444

संसदको सार्वजनिक लेखा समितिले राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबारको बैठकले राष्ट्रिय परिचय पत्रको काम तत्काल अघि बढाउन र यसकालागि अपुग हुने बजेटको ब्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पहिलो चरणमा १ लाख १७ हजार राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको जानकारी दिए ।

अहिले ६ वटा कम्पनीले पेश गरेको कोटेशनका आधारमा कम्पनी छनोटको काम अघि बढिरहेको र सरकारपनि जतिसक्दो छिटो यो प्रक्रिया अघि बढाउन चाहिरहेको बताए। बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले परिचयपत्र वितरणको काम विदेशी कम्पनीलाई दिँदा महत्वपूर्ण सूचना विदेशी कम्पनीसँग हुने आशंका जायज नभएको जानकारी दिए ।

विदेशी कम्पनीले सुरुमा इन्स्टलेशनको काम मात्र गर्ने र त्यसपछिको सबैजसो काम नेपालमै र नेपाली प्राविधिकबाटै गराइने भएकाले सबै तथ्यांक नेपालमै रहने उहाँले जानकारी दिए । परिचयपत्रका लागि एशियाली विकास बैंकले ८० लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यसका लागि पर्सिसम्ममा सम्झौता गरिसक्नुपर्ने भएपनि प्रक्रिया बाँकी नै रहेकाले एडिबीलाई केही सयम थप गर्न आग्रह गर्ने तयारी भइरहेको सरकारले जनाएको छ । सरकारले नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेपनि विभिन्न समस्याका कारण प्रक्रिया अघि बढ्न सकेको छैन ।