बाबुरामले बोली फेरे, सरकार परिवर्तन गर्ने बेला भएको छैन रे ।
विराटनगर, ३ वैशाख ।
सरकारको औचित्य नभएको र सरकारमा बसिरहने नैतिक अधिकार केपी ओलीलाई नभएको अभिव्यक्ति दिएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बोली फेरेका छन् ।
भ्रष्टाचार नियन्त्रण तथा कालोबजारी रोक्न नसकेको भन्दै सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारको विकल्प खोज्ने बेला नभएको बताएका हुन् । चार दिन अगाडि सरकारको विरुद्ध धारणा सार्वजनीक गरेका भट्टराईले चारदिनपछि बोली फेर सरकार फेर्ने बेला नभएको बताएका हुन् । उनले सरकारलाई काम गर्न दबाब दिनुपर्ने बताए ।
मधेसमा देखिएका समस्या समाधान गर्नका लागि मोर्चा र सरकार वार्तामा बस्नुको विकल्प नभएको उनको भनाइ थियो । मधेसको मुद्धा राजनीतिक विषय भएकाले वार्ता तथा छलफलबाट मात्र समस्या समाधान हुने हुँदा गम्भिर हुन उनले सरकारलाई आग्रह गरे ।
सप्तरीको भारदहमा मधेस जागरण अभियान कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक भट्टराईले सरकारका काम कारबाही सुस्त भएका कारण दबाब दिन आवश्यक रहेको बताए ।
सरकार परिवर्तन गर्दा फेरी राजनीतिक अस्थिरता हुने भन्दै भट्टराईले सत्तापरिवर्तनको खेलमा नलाग्न दलका नेताहरुलाई आग्रह गरे ।