बैद्यको प्रवृत्ति एकता की फूट ?
मूलखबर/
कम्युनिष्ट आन्दोलन र अभियानको कुरा आउँदा मोहन बैद्य र फुट एक अर्काका पर्यायबाची जस्तै बनेका छन् । मोहन बैद्य विनाको नेपाली कम्युनिष्ट आन्दोलन र मोहन बैद्य विनाको अन्तरसंघर्ष सायदै नेपाली कम्युनिष्ट आन्दोलनमा देखियो होला । मोहन बैद्य अर्थात ‘कमरेड किरण बा’ सबैका आदरणीय अभिभावक र सरल नेता हुन् । परम्परागत ढर्रा र माक्र्सवादको वास्तविक परिभाषामा उहाँले लिनुभएको अडान सहि नै होला तर के माक्र्सवादको किलो समातेर बसिरहँदा दाई गर्ने कुरा सम्पन्न नगर्ने हो भने एक्लो गोरुको काम लाग्छ र ? एकातिर एकताको आवश्यकता आम कम्युनिष्ट क्रान्तिकारीले गरिरहने, अर्कातिर उनी एकताको विरोधी जस्तो सधै देखिरहने कुराले कमरेड किरणको अभिभावकत्व बच्न सक्छ ? अभिभावक त त्यो हो जसले खतरामा परेको बेला पनि सन्न्तानहरुको रक्षा गर्छ र वस्तुवादी योजना र कार्यदिशा निर्माण गर्न सक्छ ।
चार दशक अगाडि किरणको नेतृत्वमा भएको कम्युनिष्ट पाटी कहिल्यै एकताको मार्गमा अगाडि वढ्न सकेन । जनवादी क्रान्तिको कुरा गर्ने तर कहिल्यै हाम फाल्न हिम्मत नगर्ने विरासतबाट अगाडि वढेको पार्टीलाई प्रचण्डको जिम्मामा आएपछि के भयो ? त्यसपछि चौंथो महाधिवेशन, एकता महाधिवेशन, जनयुद्ध, एकता केन्द्रसँगको एकता प्रक्रिया र संविधानसभाको पहिलो निर्वाचनसम्म आउँदा प्रचण्डको भुमिका के रह्यो बैद्यको भुमिका के रह्यो ? जनयुद्धको शुरुवातमा यसको तिब्रता र आक्रामक रणनीति बनाउने विषयमा किरणले किन मन्द गतिमा लैजानुपर्ने बहस गरे ? आधार इलाका निर्माणको कुरा गर्दा किन बेला भएको छैन भन्दै खोचे थाप्ने काम गरे ? नेतृत्व केन्द्रीकरणको कुरा गर्दा किन खुल्न चाहेनन् र तत्कालिन पहिलो र दोश्रो वार्ता गर्दा किन अति भयो भन्दै खुल्ला राजनीतिमा फेस गर्न चाहेनन् । किन संविधानसभाको सदस्य पदबाट राजीनामा गरे भन्ने कुरा अहिले कमरेड किरणले गरेका गतिविधि र अगाडि सारेका कार्यदिशाले थप आशंकीत बनाएका छन् । वास्तवमा कमरेड किरण आत्मैदेखि क्रान्ति गर्न चाहन्छन् की देखाउन क्रान्ति बोल्छन् भन्ने कुरा सेक्टर काण्डदेखि अहिलेको परि थापाहरुसँग एकता गर्ने र नेकपा क्रान्तिकारी माओवादीभित्रको विवाद हेर्दा सन्देह उत्पन्न भएको छ ।
मओवादी जनयुद्ध सेफ ल्याण्डींग गर्दै शान्ति प्रक्रियामा आएदेखि नै बैद्यले फरक धारको प्रतिनिधित्व गर्दै सधैं पार्टीमा दुई लाइन संघर्षको नाममा पार्टीभित्र एकता कायम हुन कहिल्यै दिएनन् । पाँचौ विस्तारित बैठक, खरिपाटी भेला, पालुंगटारमा सम्पन्न छैटौं विस्तारित बैठक हुँदै पार्टी फूट सम्म लैजाने र पहिलो संविधानसभाबाट संविधान बन्न नदिने खेल सबै बैद्यकै रहेछ भनेर विश्लेषण गर्दा अन्यथा नहुने भइसक्यो ।
यदि अहिले एकताको विरुद्ध जाने निर्णयमा बैद्य पुगे भने र उनले नेतृत्व गरेकको नेकपा क्रान्तिकारी पार्टी पुुन विभााजनमा पुग्यो भने सम्मानजनक ढंगको सेना समायोजनको प्रक्रियालाई तुहाएर जनमुक्ति सेनाको शिवीरभित्रै रक्तपात शुरुवात गर्ने, पार्टीको सम्पत्ति भागबण्डा र दावी विरोधको नाममा आफ्नैहरुलाई गोली हान्ने र संविधानसभाको दोश्रो निर्वाचनमा एमाओवादीलाई हराउन तस्कर र गुण्डाहरुबाट पैसा लिएर एमाले र कांग्रेसलाई भोट हाल्ने जस्ता हर्कत गराउने कामको नेतृत्वकर्ता पनि बैद्य नै ठहरीने निश्चित छ । आखीर किन यसो गर्दैछन् बैद्य । के बैद्य साँच्चै क्रान्तिविरोधी हुन् त ? एकताको विरोधी र फूटको पक्षपाती हुन् त ? बैद्यले यस कुराको चित्तबुझ्दो जवाफ र प्र्रतिवद्धता सार्वजनीक गर्नुृपर्दछ । अन्यथा जनयुुद्धका कमजोरीदेखि, शान्ति प्रक्रियाका समस्या, पार्टी निर्माणमा देखा परेकाक समस्या र माओवादी आन्दोलनको विभाजन र खुम्च्याईमा बैेद्यकै भुमिकाको व्याख्या इतिहासले गर्ने स्थिति बन्नेछ । इतिहास त्यसैको हो जसले जित्छ र आफूलाई स्थापीत गर्दछ ।
नेपाली कम्युनिष्ट आन्दोलनका आदरणीय व्यक्तित्वको रुपमा उचाई बनाएका नेता किरणको निर्णय क्षमता र वस्तुवादी कदमले उनको आगामी जिवन र भविष्यको निर्धारण गर्दछ । के किरणले अहिलेको आम आवश्यकता बनेको क्रान्तिकारी कम्युनिष्टहरुको एकताको लागि नेतृत्वदायी पहल गर्न सक्छन् । के किरणले माक्सर्वादलाई समयसापेक्ष उपयोगी र व्यवहारीक कार्यान्वयनमा लैजान सक्छन् ? यी प्रश्न अहम बनेका छन् । के नेता किरणले आफू नेपाली क्रान्ति सम्पन्न गरी मूलुकलाई समाजवादी दिशामा डोर्याउन र आफू फूटको होइन एकताको सुत्रधार हो भन्ने सावीत गर्लान ?