सेप्टेम्बर ११ पछि पहिलोपटक अमेरिकामा विमान उडान प्रतिवन्ध, सिस्टम सुधार गर्न ५० अर्ब डलर लाग्ने

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकामा ११ सेप्टेम्बर २००१ पछि पहिलोपटक सबै उडान राेकिएपछि विभिन्न चर्चा शुरू भएको छ ।

एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको अमेरिकी सरकारी निकायकाे दावी छ ।

सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। यस अवधिमा ८ हजारभन्दा बढी उडान रद्द भए भने करिब १५ लाख यात्रु प्रभावित भएका छन्।

११ सेप्टेम्बर २००१ को आतङ्कवादी हमलापछि अमेरिकामा सबै उडान रोकिएको यो दोस्रो घटना हो। यसअघि जनवरी २०२३ मा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा यस्तो अवस्था सिर्जना भएको थियो।

करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन सक्ने आशंका व्यक्त गरेका छन्।

अमेरिकी यातायात मन्त्री सिन डफीले एयर ट्राफिक कन्ट्रोल सिस्टमलाई अपग्रेड गर्न ५० अर्ब डलर माग गरेका छन्, यद्यपि राष्ट्रपति ट्रम्पले कंग्रेससँग ३० अर्ब डलर मात्र मागेका छन्।

डफीले सिस्टमको सामान्य मर्मत मात्र नगरी यसलाई पूर्ण रूपमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। गत वर्ष कंग्रेसले यसका लागि १२.५ अर्ब डलर स्वीकृत गरेको थियो। मन्त्री डफीले पर्याप्त कोष नदिएको भन्दै कंग्रेसको आलोचना गरेका छन्।

सञ्चार प्रणालीमा आएको खराबीको कारण नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीसँग जोडिएको छ कि छैन भन्ने विषयमा एफएएका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यो प्रणालीले एयर ट्राफिक कन्ट्रोललाई सम्भावित समस्याहरूको पहिचान गर्न र विमानहरूको रुट बदल्ने सुझाव दिन्छ।

अमेरिकी सरकारले एयर ट्राफिक कन्ट्रोलको पुरानो प्रविधि बदल्ने क्रममा पुराना तारको सट्टा फाइबर अप्टिक केबल र रेडियो सिस्टमहरू जडान गरिरहेको छ। यस परियोजनाका लागि गत वर्ष १२.५ अर्ब डलर स्वीकृत भएको थियो, तर अझै धेरै काम बाँकी छ।

उडान रद्द हुँदा यात्रुले पूरै रिफन्ड पाउने

अमेरिकामा उडान रद्द हुँदा यात्रुले पूरै रकम फिर्ता (रिफन्ड) पाउने अधिकार छ। यो नियम उडान रद्द हुनुको कारण जेसुकै भए पनि लागू हुन्छ। उडानमा धेरै ढिलाइ भएमा वा समय परिवर्तन भएमा र यात्रुले यात्रा नगर्ने निर्णय गरेमा पनि रिफन्ड माग्न सकिन्छ।

थ्याङ्क्सगिभिङको बिदाभन्दा करिब दुई साताअघि यात्राको तयारी चलिरहेको समयमा यो घटना भएको हो। ‘एयरलाइन्स फर अमेरिका’ का अनुसार, बिदाको समयमा अमेरिकी एयरलाइन्सबाट दैनिक औसत २७ लाख यात्रुले यात्रा गर्ने अनुमान छ।

अमेरिकी आकाशमा विमान उडाउन राेक लगाइयाे