सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त, अझै १ रिक्त

मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त भएका छन् । संसदीय सुनवाइ समितिले अनुमोदन गरेका प्रस्तावित न्यायाधीशहरूलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । उनीहरूलाई शुक्रबारै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ गराएका छन् ।

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् । यसअघि बागचन्द पोखरा उच्च अदालतमा मुख्य न्यायाधीश, सारू र पाण्डे पाटन उच्च अदालतमा तथा डाँगी जनकपुर उच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत थिए ।

संसदीय सुनुवाइ समितिको गत २१ कात्तिकको बैठकले उनीहरूको नाम अनुमोदन गर्दै सिफारिस गरेको थियो । सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० न्यायाधीश हुने संवैधानिक व्यवस्था छ । चार नयाँ नियुक्त भएपछि पनि एक न्यायाधीशको पद अझै रिक्त छ ।