अमेरिकी आकाशमा विमान उडाउन राेक लगाइयाे

मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक

अमेरिकामा देशभरका विमानस्थलमा उडान राेकिएकाे छ ।  एयर ट्राफिक कन्ट्रोल प्रणालीमा देखिएको ठूलो प्राविधिक समस्याका कारण यस्तो असामान्य निर्णय लिनुपरेको बताइएको छ ।

अमेरिकी समय अनुसार शुक्रबार दिउँसो करिब ४ बजे (पूर्वी अमेरिकी समय) एफएएले देशभरका विमानस्थलबाट हुने उडान तत्कालका लागि रोक्न निर्देशन जारी गरेको थियो। एफएएका अनुसार असाधारण परिस्थिति र उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

अमेरिकाका होमल्याण्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले समस्या दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण उत्पन्न भएको बताएका छन्। तर, प्रशासनका अधिकारीहरूले अहिलेसम्म यसको वास्तविक कारण पत्ता लगाउन नसकेको उनले स्पष्ट पारेका छन्।

मुलिनका अनुसार समस्या तत्काल समाधान हुने अवस्था छैन। उनले पत्रकारहरूसँग भने, “यो समस्या एक घण्टाभित्रै समाधान भएर उडानहरू सामान्य अवस्थामा फर्किने छैनन्। यसका लागि केही समय लाग्नेछ।”

उनले अहिलेसम्म आतंकवादी आक्रमण वा अन्य कुनै नियोजित गतिविधिको संकेत नदेखिएको पनि बताएका छन्। “यो अर्को ९/११ होइन। यो दूरसञ्चार प्रणालीमा आएको अवरोध हो,” उनले भने।

यद्यपि, अधिकारीहरूले समस्याको कारणबारे कुनै निष्कर्षमा पुगिनसकेको र सबै सम्भावनाको अनुसन्धान भइरहेको बताएका छन्।

यातायात मन्त्री सीन डफीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकाका सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरलाई प्रभावित पार्ने सञ्चारसम्बन्धी समस्या देखिएको पुष्टि गरेका छन्। एफएएका प्राविधिक कर्मचारीहरूले समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन्।

साँझ ६ बजेसम्म अमेरिकाभित्र १० हजार भन्दा बढी बढी उडान ढिला भएका थिए भने करिब १७ सय उडान रद्द भएका थिए। उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार प्राविधिक समस्याले देशभरको हवाई यातायात प्रभावित भएको हो।- खसाेखास