उज्यालो युगमा नेपाल, लक्ष्मी पुजाकाे दिन पनि ५८७ मेगावाट निर्यात

मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक

प्राकृतिक विपतका कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युतकाे उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। रसुवा क्षेत्रमा ४५० मेगावाट विद्युत् उत्पादन प्रभावित हुँदा पनि प्राधिकरणले आन्तरिक माग पूरा गरी भारततर्फ ५८७.३० मेगावाट विद्युत् निर्यात गर्न सफल भएको हो।

प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको थियो। उक्त समयमा प्रणालीको कुल पिक भार दुई हजार ४००.३० मेगावाट रहेको थियो। आन्तरिक खपत व्यवस्थापनपछि बाँकी विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

यस वर्षको लक्ष्मीपूजामा विद्युतकाे उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाटले बढेको छ। गत वर्ष लक्ष्मीपूजाका दिन उच्चतम माग एक हजार ७४५ मेगावाट थियो। त्यस्तै, काठमाडौं उपत्यकाको विद्युत् माग पनि बढेर ४८९ मेगावाट पुगेको छ। गत वर्ष उपत्यकाको उच्चतम माग ४०२ मेगावाट रहेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् आपूर्ति अविच्छिन्न राख्न देशभर प्राविधिक टोली तथा आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिए। विद्युत् प्रणालीमा कुनै समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने लक्ष्यसहित प्राविधिक टोली परिचालन गरिएको उनले बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चुनौतीपूर्ण अवस्थामा समेत विद्युत् माग व्यवस्थापन गर्न सफल भएको भन्दै प्राधिकरणका कर्मचारी तथा व्यवस्थापनको प्रशंसा गरेका छन्। उनले आइतबार साँझ भार प्रेषण केन्द्र पुगेर विद्युतकाे माग र आपूर्तिको अवस्थाबारे जानकारीसमेत लिएका थिए।

प्राधिकरणको तथ्यांकअनुसार यस वर्षको लक्ष्मीपूजाका अवसरमा स्वतन्त्र ऊर्जा उत्पादकबाट एक हजार ५३६.५० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उपलब्ध भएको खबर नयाँ पत्रिकामा छ ।

लक्ष्मीपुजामा झिलिमिलि काठमाडौं, कसरी गए अँध्यारा दिन ?