चिनियाँ कम्युनिस्ट पार्टीका निर्णय सबै दलका लागि सिकाइको विषय
नेपालको विकास र समृद्धिका लागि चीनको नीतिगत प्राथमिकता उपयोगी हुने ज्ञवालीको भनाइ
काठमाडौं, १६ कात्तिक। नेपालका राजनीतिक दलका नेताहरूले चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को पछिल्लो पाँचौँ पूर्ण बैठकले तय गरेका नीति तथा निर्णय नेपालका लागि महत्वपूर्ण सिकाइ र विकासको आधार बन्न सक्ने बताएका छन्। उनीहरूले चीनको विकास अनुभव, शासन सञ्चालनको अभ्यास र दीर्घकालीन योजनाबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक (Fifth Plenary Session) सम्बन्धमा सोमबार काठमाडौंमा आयोजित विशेष सेमिनारमा बोल्दै नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो बैठकका निर्णय नेपालका वामपन्थी राजनीतिक दलका लागि मात्रै नभई सबै राजनीतिक दलका लागि महत्वपूर्ण शिक्षा र सिकाइको विषय भएको बताए।
चीनले विकास, सुशासन र समृद्धिका क्षेत्रमा हासिल गरेको उपलब्धि तथा आगामी विकासका लागि तय गरेका नीतिगत प्राथमिकताबाट नेपालका सबै राजनीतिक दलले सिक्नुपर्ने उनको धारणा थियो।
त्यसैगरी, नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो बैठकबाट पारित निर्णय तथा नीतिगत प्राथमिकताहरू नेपालको विकास र समृद्धिका लागि उपयोगी हुने बताए। चीनको दीर्घकालीन विकास योजना, नीतिगत निरन्तरता र विकास अनुभवबाट नेपालले आफ्नो विकास रणनीति निर्माण तथा कार्यान्वयनमा महत्वपूर्ण सिकाइ हासिल गर्न सक्ने उनले उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धिताल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीलगायतले पनि नेपाल–चीन सम्बन्धका विविध आयामबारे धारणा राखेका थिए। उनीहरूले दुई देशबीचको सम्बन्धलाई आपसी हित, पारस्परिक सम्मान र सहकार्यका आधारमा थप सुदृढ बनाउनुपर्ने विषयमा जोड दिएका थिए।
‘चीनका शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा तिनको प्रभाव’ (China’s Governance Priorities and Their Implications for Nepal-China Relations) विषयक उक्त सेमिनार नेपाल–चीन अनुसन्धान केन्द्र (Nepal-China Research Centre for Party and State Governance) र फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले संयुक्त रूपमा आयोजना गरेका थिए।
सेमिनारमा चीनको शासन सञ्चालन प्रणाली, आर्थिक तथा सामाजिक विकासका प्राथमिकता, दीर्घकालीन योजना र बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल–चीन सम्बन्धको सम्भावनाबारे छलफल गरिएको थियो। विशेषगरी चीनको विकास अनुभवबाट नेपालले लिन सक्ने सिकाइ, द्विपक्षीय आर्थिक सहकार्य, कनेक्टिभिटी, व्यापार तथा विकास साझेदारीका विषयमा विमर्श भएको थियो।
वक्ताहरूले नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिलाई केन्द्रमा राख्दै चीनसँगको सम्बन्धलाई थप परिणाममुखी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
काठमाडौंको लैनचौरस्थित होटल मल्लमा सोमबार दिउँसो आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सांसद, कूटनीतिक क्षेत्रका जानकार, अनुसन्धानकर्ता तथा नेपाल–चीन सम्बन्धमा चासो राख्ने व्यक्तिहरूको सहभागिता रहेको थियो।





