अन्ततः प्रस्तावित ३ राजदूत संसदीय सुनुवाइमै राेकिए
सरकारले विभिन्न १३ देशका लागि प्रस्ताव गरेका राजदूतमध्ये तीन जना प्रस्तावित राजदूत संसदीय सुनुवाइको प्रक्रियामै रोकिएका छन् ।
संसदीय समितिबाट अनुमोदन भएका राजदूतहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा रहेका छन् ।
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि ओमान पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चला झाको नाम पनि सुनुवाइ समितिबाट अनुमोदन भयो ।
एकै दिन १० देशका राजदूतको नाम अनुमोदन हुँदा मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत खरेल र साउदी अरबका लागि प्रस्तावित सुनारको नाम अनुमोदन भएन ।
त्यसदिन सुनुवाइ समितिले जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाममा भने कुनै निर्णय गरेन ।
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेल स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका उजुरी आएसँगै प्रस्तावित पदमा पुग्न सकेनन् ।
साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारमाथि विवाहेत्तर सम्बन्ध राखेको, मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएको आरोप लाग्यो ।
जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर नेपाल डिपोर्ट गरेको, प्रहरीको बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको, पैसा उठाउने र व्यवस्थापन गर्ने गरेको लगायतका आरोप लागेपछि संसदीय सुनुवाइकै क्रममै रोकिए ।





