अविरल वर्षाले कर्णालीमा सडकहरू अवरुद्ध
अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध हुँदा सुर्खेत–दैलेख हुँदै कालिकोट र जुम्ला जोड्ने कर्णाली राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएको हाे ।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बाटो अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन नसकेको हो। कर्णालीका पहाडी जिल्लालाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने प्रमुख मार्गमा अवरोध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
सुर्खेतको बराहताल गाउँपालिका–७ औंलेमा पनि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। सुर्खेतबाट दैलेख, कालिकोट, जुम्लालगायत कर्णालीका पहाडी जिल्लातर्फ जाने सवारीसाधनका लागि यो सडक महत्वपूर्ण मार्ग हो। कर्णाली राजमार्गमा वर्षायाम सुरु भएसँगै पहिरो र सडक अवरोध नियमित समस्या बन्दै आएको छ। सडकको धेरैजसो भाग पहाड काटेर निर्माण गरिएको र भिरालो भूभागमा पर्ने भएकाले ठूलो वर्षा हुँदा माथिबाट पहिरो र ढुंगा–माटो खस्ने जोखिम छ।
कर्णाली राजमार्गमा मात्रै नभई प्रदेशका अन्य मुख्य सडकमा समेत पहिरो खसेको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ सल्लेखोलामा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका–३ खच्चामा पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ।
सल्यानको कपुरकोट–५ खारखोलामा राप्ती राजमार्ग तथा सल्यानकै अन्य स्थानमा समेत सडक अवरोध भएको छ। एकैपटक विभिन्न सडकखण्डमा पहिरो खसेपछि कर्णालीको सडक यातायात प्रभावित बनेको हो।



