गृहमन्त्री सुदनकाे अभिव्यक्तिप्रति जेनजी अगुवा रक्षाकाे आपत्ति, दिइन् सच्चिन चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, ३० चैत

गृहमन्त्री सुदन गुरूङले गरीब भएरै मर्नुलाई अपराध भनेकाे प्रति जेनजी आन्दोलनका अगुवा रक्षा बमले कडा आपत्ति जनाउँदै प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेकी छिन्- जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ? उनलेे गृहमन्त्री गुरूङकाे अभिव्यक्ति पदिय मर्यादाविपरित भएको भन्दै सच्याउन चेतावनीसमेत दिएकी छन् ।

हेराैं उनको स्टाटस- 

माननीय गृहमन्त्रीज्यू,

फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।

आज हाम्रो देशका २०% भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।

जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस्।