बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता कायम

मूलखबर संवाददाता
बागलुङ, २९ पुस

बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्मका उमेर समूह बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर पाँच हजार २५३ मतदाता थपिएका छन् ।

मतदाता नामावली दर्ता गराउनेमा सबैभन्दा बढी युवापुस्ता छन् । जिल्ला बाहिरका १०० मतदाताले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयमै पुगेर एक हजार ४६४ जना र राष्ट्रिय परिचय प्रणालीतर्फबाट तीन हजार ९२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

बागलुङमा दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं १ मा ४८ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९८ हजार ८४६ जना र क्षेत्र नं २ मा ५९ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९५ हजार ३३५ मतदाता रहेका छन् ।